काठमाडौं, ५ असार । प्रदेश २ का प्रहरी नायव महानिरिक्षक हरि बहादुर पालले भ्रष्ट्रचार गर्ने कर्मचारीहरु मात्र यस प्रदेशमा आउने गरेको आरोप लगाएका छन् । अपराधिक घटनालाई बढावा दिन तथा आर्थिक लाभ लिनको लागि अधिकांश कर्मचारीहरु प्रदेश २ मा आउने गरेको उनले बताए । पालले भ्रष्ट्रचारिहरु माथि शुन्य सहनशिल्ता राखि तह लगाउनु पर्ने बताए ।
बिहीबार सीमा प्रहरी चौकी लग्मा, जटही धनुषाको नव निर्मित भवन तथा कार्यालय उदघाटन सत्रलाई सम्बोधन गर्दै डिआईजी पालले भने ‘यस प्रदेशमा इमान्दार व्यक्तिलाई आउने इच्छा लाग्दैन । यहाँ आउने अधिकांश कर्मचारी आर्थिक लाभ लिन, चोरी, डकैती जस्ता क्रियाकलापलाई बढाउने प्रवृतिको कर्मचारीहरु हुन्छन् ।’ प्रदेश २ का प्राय जिल्लासंग आँफू पहिला पनि परिचायात्मक रहेको हुनाले केही सुधार गर्न आएको तर सुधारगर्ने वातावरण नपाएको उनले गुनासो गरे ।
इमान्दार कर्मचारीको अस्थिरता बारे उदाहरण दिँदै कानुन विपरीत काम गरेर दुई वर्ष आलोचना सुन्नु भन्दा राम्रो छ महिना मात्र पूर्णत मर्यादित र कानुनको पालना गरी काम गर्न आँफूले मन पराएको उनले बताए । प्रहरीको आत्म समिक्षा गर्दै प्रहरीले अहोरात्र मेहन्त गरेर जनताको सेवा हर बखत गरे पनि विभिन्न दवावका कारण कतिपय दोषीलाई कारवाही गर्न नसकेको उनले स्वीकार गरे । आमसर्वसधारणलाई कसैको रोहबरमा आएर सानो मुद्दामा विवाद नगर्न सुझाउँदै नाकारात्मक सोचको व्यक्तिले त्यसको लाभ लिएको उनले औल्याए ।
कुनै पनि समस्या भए गाउँघरमै वा नजिकको प्रहरी चौकीसंग सहकार्य गरी समाधान गर्न उनले आग्रह गरे । ‘आमसर्वसधारणलाई बीना कारण लडाएर कतिपय भ्रष्ट व्यक्तिहरुले कमाउन खोजेको भन्दै प्रदेश २ को जनतालाई सोच परिर्वतन गर्नु पर्ने आवश्यकता रहेको उनले औल्याए । ‘स्रोत साधन देखि धर्म, सांस्कृति, भाषा प्रत्येक क्षेत्रमा प्रदेश २ आगाडी छन,’ उनले भने, ‘तर पनि प्रदेश सम्पन्न हुन नसक्नु चिन्ताको विषय हो । प्रदेश २ का जनताले सोच परिवर्तन गरे छिट्टै प्रदेश समृद्ध हुन्छ ।’ कुलतमा परेका विभिन्न व्यक्तिहरुको उदाहरण दिँदै यहाँका अभिभावकहरु सचेत हुनु पर्ने उनले बताए । ‘अधिकांश घरबाट पुरुष बैदेशिक रोजगारीमा गएको छ,’ उनले भने, ‘घरमा सन्तानले आमाले टेरदैनन् र साथीभाइको लहैलहमा कुलतमा पर्छन् ।’
समाज निर्माणमा युवाको महत्वपुर्ण भुमिका रहेको भन्दै यहाँका अधिकांश युवा कुलतमा फसेको उनले बताए । कुलतमा परेका युवाहरुलाई सुधार गर्न अभिभावकलाई गम्भिर हुनु पर्ने भन्दै लागु औषध प्रयोग गरेको युवा माथि अभिभावकलाई निगरानी बढाउनु पर्ने उनले बताए ।
सुरक्षाको हिसाबले चुनौतीपूर्ण रहेको प्रदेश २ मा सिमावर्ती क्षेत्र धनुषाको जटहीमा चौकी निमार्ण कार्य सम्पन्न भएपछि यहाँका प्रहरी कर्मचारीहरुलाई कार्य गर्न र बस्न सहज हुने उनले विश्वास व्यक्त गरेको छ । शान्ति सुरक्षा र जनताको जन धनको लागि दत्त चित भएर कार्य गर्न प्रहरीलाई निर्देशन दिँदै प्रमुख नाकाहरुमध्ये एक रहेको जटहीमा सिमा प्रहरी चौकीको भवन निर्माणले विभिन्न प्रकारको अपराधिक घटनामा कमी आउने उनले उल्लेख गरे ।
नेपाल सरकारबाट प्राप्त नियमित बजेटबाट १ करोड ९८ लाख ६० हजार १ सय ८३ रुपैयाँको लागतमा नेपाल प्रहरीको आफ्नै जग्गाा ८ कठ्ठा १५ धुरमा रोशन कन्सट्रकसन प्रा.लि. जनकपुरमार्फत भवन निर्माण कार्य सम्पन्न गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्