काठमाडौं, ६ असार । राष्ट्रिय जनता पार्टी सांसद रामबाबु यादवले सरकारले संसदीय मर्यादा उलंघन गरेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै उहाँले दुई तिहाईको बलमा सरकारले विपक्षीमाथि बल मिच्याई गरेको बताउनुभएको हो । संसदीय मर्यादा उलंघनका सम्बन्धमा केही दिन देखि संसदमा सत्तापक्ष र विपक्षीका सांसदहरुबीच आरोप प्रत्यारोप चल्ने गरेको भन्दै उहाँले ‘सरकारले संसदीय मर्यादालाई मान्नु पर्छ कि पर्दैन ?’ भनी प्रश्न गर्नुभयो । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नका लागि सभामुखले सरकारलाई निर्देशन गरिसक्दा पनि अझै कार्यान्वयन नभएको भन्दै उहाँले रोष प्रकट गर्नुभयो ।
सरकारले सभामुखको निर्देशन नमानेको तथा संसदीय समितिले दिएको निर्देशनलाई विभागिय मन्त्रीले सार्वजनिक रुपमा चुनौति दिदै हिडेको उल्लेख गर्दे उहाँले संसदीय मुल्य र मान्यता कार्यान्वयनमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
विशेष समयमा बोल्दै सांसद प्रभु शाहले रौतहट जिल्लामा भएका केही आपराधिक घटनाबारे जानकारी गराउदै शान्ति सुरक्षाको सुव्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । आपराधिक घटनामा संलग्न अपराधी अहिले सम्म पत्ता लाग्न नसकेको भन्दै उहाँले गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
त्यसैगरी सांसद मिना पाण्डेले सर्लाहीमा प्रहरीले गोली हानेर कुमार पौडेलको हत्या गरेको समाचार बाहिर आएको भन्दै नियन्त्रणमा लिएर हत्या गर्ने कार्यले मानवअधिकारको गंम्भीर उंल्लघन भएको भन्दै घटनाबारे छानविन गर्न आयोग गठन गर्न माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्