काठमाडौँ, १० असार । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोख्रेलले सरकारले राष्ट्रिय सुरक्षा नीति २०७३ सालको विधेयकमा नै आधारित भएर ल्याएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत रक्षा मन्त्रालय शिर्षकमा संसदमा उठेका प्रश्नहरुको जवाफ दिदै मन्त्री पोख्रेलले सरकारले तत्काल बनाएको भन्दा पनि २०७३ र २०७५ सालको विधेयकको आधारमा राष्ट्रिय सुरक्षा नीति बनाएको बताउनुभएको हो । मन्त्री पोख्रेलले मुलुकमा सेना परिचालन गर्नुपर्ने अवस्था आएमा राष्ट्रिय सुरक्षा परिषद्बाट अनुमोदन गर्नुपर्ने भएकाले यदि परिषद् बैठक बस्न नससेको खण्डमा पर्न सक्नेअप्ठ्यारोलाई मध्यनजर गरि प्रधानमन्त्रीले अनुमोदन गर्न सक्ने व्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।
सेना परिचालनको निर्णय प्रधानमन्त्रीले गर्न सक्ने व्यवस्थाले नेपाली सेनाको अधिकार हनन हुनुको साथै प्रधानमन्त्रीमा शक्ति केन्द्रीतकृत हुने र रक्षा मन्त्रालय निष्प्रभावी हुने भन्दै विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले यसबारे जवाफ माग गरेका थिए ।उहाँले राष्ट्रिय सुरक्षा नीति निर्माण गर्दा सबै पक्ष र राजनीतिक दलको समेत सुझाव लिएर तयार पारिएको र प्रतिरक्षा नीति तयार पार्दा पनि आवश्यकता अनुसार सुझाव लिईने बताउनुभयो ।
नेपाली सेनाले सार्वजनिक खरिद ऐन उलंघन गरी खरिद गरि भ्रष्टाचार भएको भन्ने सम्बधमा सांसदले राखेको जिज्ञासामा उहाँले राज्यका सबै निकाय संबैधानिक र कानुनी व्यवस्था अनुसार चल्नुपर्ने बताउनुभयो । उहाँले विगतका अभ्यासमा केही कमि भएपनि अब त्यस्तो नहुने स्पष्ट पार्नुभयो । उहाँले नेपाली सेनालाई विकास निर्माणको काममा पनि लगाउन सकिने व्यवस्था संविधानमा नै उल्लेख भएकाले विकास निर्माणको जिम्मा नेपाली सेनालाई दिईएको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्