काठमाडौँ, १० असार । राष्ट्रिय सभामा दर्ता गरिएको गुठी सम्बन्धी विधेयक विधिवत रुपमा फिर्ता भएको छ । मगलबार राष्ट्रिय सभामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले फिर्ता लिन गरेको प्रस्तावमा सांसदहरुको सर्वसम्मतिले फिर्ता भएको हो ।
गत बैशाख १७ गते राष्ट्रिय सभामा दर्ता भएको सो विधेयक काठमाडौं उपत्यका लगायत उपत्यका बाहिरका गुठियारहरुले आन्दोलन गरेपछि बाध्य भएर सरकारले गत असार ३ गते गुठी विधेयक फिर्ता लिने घोषणा गरेको थियो ।
असार ४ गते काठमाडौंको माईतीघर मण्डलामा आयोजित विशाल जनप्रदर्शनपछि आत्तिएको सरकारले तत्कालै सो विधेयक फिर्ता लिने प्रक्रिया सुरु गरेको थियो । गुठियारहरुले विधेयक फिर्ता नभएर खारेज नै हुनुपर्ने माग राख्दै आएका छन् । तर, मंगलबारबाट विधिवत रुपमा नै यो विधेयक फिर्ता भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्