काठमाडौं, १३ असार । शुक्रबार दिउँसो साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कालो मुस्लोसहितको धुवाँ उड्नेछ ।
केही हेलिकप्टर आपतकालीन उद्धारको शैलीमा विमानस्थल वरपर उड्नेछन् । काठमाडौं महानगरपालिकाका दमकल, सुरक्षाकर्मी र एम्बुलेन्स चर्को साइरन बजाउँदै विमानस्थल पुग्नेछन् । अन्तर्राष्ट्रिय विमानस्थलले हरेक दुई वर्षमा आपतकालीन उद्धार अभ्यास गर्ने चलन छ ।
अघिल्लो पटक विमान दुघर्टनाको अभ्यास गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यस पटक भने बम खतराको अभ्यास गर्दैछ । यसको लागि ३ बजेर १० मिनेटदेखि ३ बजेर ४० मिनेटसम्म विमानस्थलमा (नोटाम) अर्थात विमान उडान र अवतरण बन्द गरिँदैछ ।
विभिन्न सञ्चारमाध्यमले अभ्यासको घटनालाई पनि साँच्चिकै जसरी प्रस्तुत गरेर नागरिकमा त्रास फैलिने भएकाले त्यस्ता खबरको पछि नलाग्न विमानस्थलले अनुरोध गरेको छ । ‘विगतमा पनि लौ विमानस्थलमा आगो लाग्यो, विमान पड्क्यो भन्नेजस्ता भ्रामक समाचार आएका थिए, यो नियमित प्रक्रिया हो, संसारभरका अन्तर्राष्ट्रिय विमानस्थलले गर्नैपर्ने काम हो, त्यसैले आज हामीले गर्न लागेका हौँ, कसैले भ्रामक समाचार दियो भने नआत्तिनुहोला ।’ त्रिभुवन विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्