काठमाडौं, १५ असार। ईश्वरपुर नगरपालिकामा शनिबार एक बालकको मृत्यु भएको विषयलाई लिएर राजमार्गमा प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सत्यनारायण महतो रहेका छन् ।
खोलामा बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीय वासिन्दाले बालकको शवसहित राजमार्गमा प्रदर्शन गरेका थिए । राजमार्गको अवरोध खुलाउने क्रममा प्रहरीमाथि आक्रमण भएपछि गोली चलाएको सर्लाहीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
सम्झाई बुझाई गर्ने, अश्रुग्यास हान्ने, हवाई फायर गर्ने सबै उपाय अपनाउँदा पनि भीड शान्त नभएपछि गोली चलाएको उनको भनाइ छ ।
एसपी भट्टराईका अनुसार प्रदर्शनकारीको आक्रमणबाट १० भन्दा धेरै प्रहरी र केही सशस्त्र प्रहरी घाइते भएका छन् । प्रहरीको गोली लागेर अर्का एक प्रदर्शनकारी पनि घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्