काठमाडौं १६ असार । असार १५ धान दिवसको अवसर पारी पोखरामा रोपाइ महोत्सवको आयोजना गरिएको छ । पोखरा सवै मौसमका लागी भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यहांका पर्यटन ब्यवशायीहरुले पोखरामा असारे रोपाइ महोत्सवको आयोजना गर्दै आएका छन । पोखरामा रहेका पर्यटन व्यवशायीहरुको साझा संस्था पोखरा पर्यटन परिषदको आयोजनामा यसपालि पोखरा महानगरको १७ नम्बर वडा विरुवा फांटमा १६ औ संस्करणको असारे रोपाइ महोत्सवको आयोजना गरियो ।
पछिल्लो समय आधुनिक कृषी तर्फ गइरहदा पुरानो कृषी प्रणालीको बारेमा आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी दिने उद्देश्यले आयोजना गरिएको महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको निकै भीड लाग्यो ।
चार हल गोरु, बाउसे, रोपारी र खेतालाहरुले पुरानो शैलीमा धान रोप्ने र हिलोमा एक अर्कालाई हिलो छ्यापाछ्याप गर्नेको निकै भीड लाग्यो भने हिलोमा माछा समाउने, डोरी तान्ने र दौड प्रतियोगिताले महोत्सवमा उपस्थितलाई मनोरन्जन प्रदान गर्यो भने ख्यातिप्राप्त दोहोरी गायक गायिकाहरुको असारे गीत प्रस्तुतीले महोत्सवमा माहोल तताउन थप सहयोग गर्यो । महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले पोखरामा रहेका बांकी खेतफांट जोगाइ पुरानो शैलीको रोपाइबारे आम जनमानसलाई जानकारी दिन रोपाइ महोत्सव उत्कृष्ट थलो बन्ने गरेको वताए ।
महोत्सवमा भेटिएका अमेरिकी युनिभर्सिटीका विद्याथी रियाले आफुहरु युनिभर्सिटीबाट पहिलो पटक पोखरा आइपुगेको र नेपालको परम्परागत कृषी प्रणालीको बारे अध्ययन गर्दैगरेका बताइन । असार पन्ध्रको असारे महोत्सवमा सहभागी हुन पाउदा निकै खुसी लागेको वताउदै उनले अमेरिककामा रहेका विद्यार्थीलाई नेपाल बारे जान्नका लागी नेपाल भ्रमण गर्न आग्रह गर्ने वताइन ।
विशेषगरी पोखरा वर्षा यामको समय पर्यटक शुन्य हुने अफसिजनको रुपमा पर्यटन ब्यवशायीहरुले लिने गरेका छन । त्यसलाई मध्येनजर गरी विगत १५ वर्षदेखी पोखरामा विदेशी पर्यटकलाई भित्रयाउने उद्देश्यले असारको पन्ध्रमा असारे रोपाई महोत्सवको आयोजना गर्दै आइरहेको पर्यटन परिषद पोखराका पूर्व अध्यक्ष टिकाराम सापकोटा वताउछन । परम्परागत कृषी प्रणालीको बारेमा विदेशी पर्यटकलाई जानकारी दिन र विदेशी पर्यटन भित्रयाउनका लागी यो महोत्सवले निकै भुमिका खेलेको सापकोटाको भनाइ रहेको छ ।
यसरी अफसिजनमा सञ्चालन हुदै आइरहेको रोपाइ महोत्सवलाई नेपाल पर्यटन वोर्डले समेत सहयोग गर्दै आइरहेको पर्यटन वोर्ड पोखराका प्रमुख मणि लामिछानेले वताए । परम्परागत कृषी शैली नअपनाइ आधुनिक कृषी तर्फ उन्मुख भइरहदा साना बालवालिका जो स्कुलमा अध्ययनरत रहेका र विदेशी पर्यटकहरुलाई समेत यसको बारेमा जानकारी दिनका लागी यस्ता असारे रोपाई महोत्सवले ठूलो भुमिका खेल्ने उनको भनाइ रहेको थियो ।
पोखराका पर्यटन ब्यवशायीहरुले यसरी अफसिजन भनेर असारे रोपाइ महोत्सवको आयोजना गरिरहदा त्यही पर्यटन ब्यवशायीहरुले यसअगाडि महोत्सव गरेका फांटहरुमा कंक्रिट भवनहरु निर्माण भइरहेका छन । त्यसैले यस्ता फांटहरुलाई जोगाएर कृषीलाई जोड दिन समेत यस्ता महोत्सवहरुले ध्यान दिन जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्