काठमाडौँ, २१ साउन । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भीमबहादुर रावलले भू–उपयोगसम्बन्धी नीति महत्वपूर्ण भएको बताउनुभएको छ । उहाँले जमीनको वर्गीकरण हुन नसक्दा भूमाफियाले जमीनको खण्डीकरण गरेको आरोप लगाउनुभयो ।
राष्ट्रियसभाले संशोधनमाथि विचार गर्न पठाएको ‘भू–उपयोग विधेयक, २०७५’ को विषयमा बोल्दै सांसद प्रेम सुवालले सार्वजनिक तथा गुठी जग्गाको अतिक्रमण रोक्न भू–उपयोग विधेयक आवश्यक पर्ने बताउनुभयो । उहाँले सार्वजनिक जमीन, ताल र पोखरी अतिक्रमण रोक्न नसक्दा भूमाफियाले जमीन अतिक्रमण गरेको बताउनुभयो । प्रतिपक्षी दलका सांसद पुष्पा भुसालले जमीनको चक्लाबन्दी नगरिकन भूउपयोग विधेयक ल्याउनुको औचित्य नभएको बताउनुभयो ।
सांसद प्रदीप गिरिले जमीन जोत्नेलाई उपलब्ध नगराएसम्म जुनसुकै विधेयक ल्याए पनि जमीनको सही उपयोग नहुने बताउनुभयो । ‘भूउपयोग विधेयक, २०७५’ का सन्दर्भमा सांसद पद्मनारायण चौधरीले बाँझो जमीनलाई उपयोग गर्ने कानून नआएसम्म प्रस्तुत विधेयकले खासै अर्थ नराख्ने बताउनुभयो ।
सांसद भरतकुमार शाहले जनतालाई जमीनको मालिक बनाए पनि जमीन बाँझो राख्न नपाउने कानून ल्याए मात्र भूउपयोग विधेयकको औचित्यता प्रष्ट हुने बताउनुभयो । सांसदहरु लक्ष्मी परियार, उमा रेग्मी, कृष्णभक्त पोखरेल र सञ्जयकुमार गौतमले पनि उक्त विधेयकका सम्बन्धमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्