काठमाडौं, २३ साउन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानी हेटौंडामै हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका छन् । प्रदेशको स्थायी राजधानी नुवाकोट वा रामेछापमा बनाए पनि आफूलाई आपत्ति नहुने तर, काठमाडौंमा चाहिँ कुनै हालतमा प्रदेशको राजधानी राख्न नहुने मुख्यमन्त्री पौडेले बताएका छन् । राजधानीको नयाँ बानेश्वरमा बिहीबार सञ्चारकर्मीसँगको अन्तर्क्रियामा बोल्दै मुख्यमन्त्री पौडेलले सिंहदरबारको छायाँमा प्रदेशको राजधानी बनाउन नहुने जिकिर गरे ।
प्रदेश ३ को नाम र राजधानी सुन्न पाइने दाबी गर्दै घरपायकका आधारमा राजधानी रहँदैन । मैले चाहेर हुने भए त स्वाभाविकरुपमा हेटौंडामा हुनुपर्छ भनौंला । किनभने, मेरो घर त्यहीँ छ, मैले बाहिर भन्न अलि मिल्दैन । त्यसैले राजधानीजस्तो विषयलाई मैले भनेर त हुने हैन, हामी दुईरचार जनाले भन्नुभन्दा पनि सिंगो यो मुलुकको नेतृत्व गर्ने राजनीतिक पार्टीहरुको वीचमा एउटा सहमति भयो भने हुन्छ । किनभने यो त दीर्घकालीन प्रभाव पार्ने, दीर्घकालीन असर पार्ने कुरा हो ।
अहिले काठमाडौंका मान्छेलाई काठमाडौंमा हुँदा राम्रो । नजिकको हिसाबले सबै राम्रो होला । तर, के भने त्यसको व्यवस्थापकीय हिसाब र अरु हिसाबले पनि, संघीय व्यवस्थालाई व्यवस्थापन गर्ने हिसाबले पनि राजधानी काठमाडौंमा हुँदैन र काठमाडौंभन्दा बाहिर जानुपर्छ भन्ने मेरो मान्यता हो ।तर, यसो भनेर मैले यहीँ नै हुनुपर्छ त भनिनँ । किनभने त्यसको संविधानले नै व्यवस्था गरेको छ । मेरो व्यक्तिगत इन्ट्रेष्टका आधारमा राजधानी रोकिएको हैन । हामी यसलाई अगाडि बढाउँछौं तपाईहरु सबैले केही दिनभित्र अब राजधानीको नाम र स्थायी राजधानीको ठाउँ पनि सुन्न पाउनुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्