काठमाडौं, ३० साउन । सरकारले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको अन्त्येष्टिमा राष्ट्रिय सम्मान प्रदान गर्ने भएको छ ।
सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विज्ञप्ति निकालेर दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने जानकारी दिनुभयो । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको थियो । आज बिहान चार बजेतिर कालिकास्थानस्थित घरमै उहाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना हुनुभएका उहाँलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो ।
उहाँलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो । दीक्षितका ‘माधवी’, ‘ऋग्वेद केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । उहाँले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गर्नुभएको थियो । नेपाली पत्रकारिता क्षेत्रमा पनि उहाँको विशिष्ट योगदान छ । उहाँको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो । उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । उहाँका आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको जनाउनुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै प्राच्य साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उहाँको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गर्नुभएको हो । प्रधानमन्त्री ओलीले दीक्षितप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्