धनुषा ३० साउन । दाजुभाई तथा दिदीबहिनी बीचको प्रेम र स्नेहको पवित्र पर्व रक्षाबन्धन आज मिथिलाञ्चलमा धुमधामसंग मनाइँदै छ । प्रत्येक वर्ष श्रावण पूर्णिमाको दिन रक्षाबन्धन पर्व मनाइने गरिन्छ । यस पर्वमा दिदीबहिनीहरुले दाजुभाईलाई फलफुल मिठाई लगायत विविध मिष्टान परिकार खुवाएर दिर्घायुको कामनदा गर्दै हातमा रंगविरंगी रेशमी धागो भएको राखी बाँध्ने गर्दछन् ।
दाजुभाइहरुले पनि दिदीबहिनीको जीवनमा आइपर्ने संकटमा सहयोग गर्ने बाचासहित श्रद्धाले जुडेको रुपिया, कपडा, गरगहना लगायतका सामग्री उपहार स्वरुप दिने गर्छन् । रक्षाबन्धन पर्वमा विवाहित दिदीबहिनीहरु दाजुभाइलाई राखी बाँध्न माईत आउने गर्छन् भने माईत आउन नसक्ने चेलीको घरमा दाजु भाइ आफैं जाने गर्छन् ।
दिदीबहिनी नभएकाहरुले कसैलाई दिदीबहिनी मानेर अथवा ब्राह्मण पुरोहित तथा पण्डितहरुको हातबाट राखी बाँध्न लगाउने गरिन्छ । त्यसैगरी दाजुभाई नभएका दिदीबहिनीले अर्कालाई दाजुभाइ मानेर राखी बाध्ने गर्छन् । सत्ययुगमा दैंत्यराज बलीलाई देवताहरुसँगको युद्धमा जानेबेला बहिनीहरु गङगा र यमुनाले साउन शुक्ल पूर्णिमाका दिन खास बिधिबाट अभिमन्त्रित गरिएको डोरा बाँधी दिनाले सबै युद्धमा उनको जित भएको पौराणिक धार्मिक विश्वास रहि आएको छ ।
प्रतिक्रिया दिनुहोस्