काठमाडौं, १ भाद्र । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली चितवन पुगेको छ । अनुसन्धान थप सहयोग गर्न सीआईबीको टोली पनि पुगेको हो ।
सीआईबीबाट प्रहरी उपरीक्षक (एसपी) दिपक रेग्मी नेतृत्वको टोली गएको हो । ब्युरोका एक अधिकृतका अनुसार घटना संवेदनशील भएकाले टोली पठाइएको हो । स्रोतका अनुसार, पुडासैनीको मोबाइलमा भिडियोसँगै थप केही ‘प्रमाण’ पनि भेटिएको छ, जुन विषयमा अनुसन्धान गर्न प्रहरीभित्र छलफल भएको थियो ।
पुडासैनीले आत्यहत्या गर्नुपूर्व खिचेको भनिएको भिडियो सार्वजनिक भएपछि काठमाडौं र चितवन प्रहरीको टोलीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो । उनीहरुलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ । पत्रकार पुडासैनी २० साउनमा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरी महानिरीक्षक मातहत रहने सीआईबीले जघन्य प्रकृतिका अपराध अनुसन्धान गर्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्