पोखरा, १३ कात्तिक । ठाउँठाउँमा भत्के बिग्रेका बाटा, खोलामा धरापपूर्ण पुल, यसका बाबजुत पनि यतिबेला स्वदेशी एवं विदेशी पर्यटकको लर्को छ अन्नपूर्ण क्षेत्रमा ।
सन् १९५० मा फ्रान्सेली नागरिक मोरिस हर्जोगको अन्नपूर्ण प्रथमको आरोहणसँगै चासो र चर्चा बनेको अन्नपूर्ण क्षेत्रमा पदयात्राकै शुरुवातको समय हेर्ने हो भने पनि ५१ वर्ष नाघिसकेको छ ।
समुद्री सतहदेखि चार हजार १३० मिटरको उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविरमा पहिलोपटक विश्व प्रख्यात पदयात्री एरिक सिप्टनले सन् १९६६ मा पदयात्रा गरेको समाजसेवी एवं अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव २०७४ का संयोजक ललित गुरुङले बताउनुभयो ।
पदयात्रा शुरु भएको यति लामो समय बितिसक्दा पनि अन्नपूर्ण क्षेत्रमा पदमार्ग अझै व्यवस्थित बन्न नसकेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार गत वर्षको तथ्यांकअनुसार अन्नपूर्ण आधार शिविरमा पदयात्रा गर्ने विदेशी पर्यटकको संख्या २८ हजार ५३१ रहेको थियो ।
पछिल्ला वर्षमा नेपालीमा बढ्दै गएको घुमफिर संस्कृतिको विकासका कारण प्रत्येक वर्ष उक्त क्षेत्रमा पदयात्रा गर्ने स्वदेशी पर्यटकको संख्या पनि ह्वात्तै बढेको छ ।
प्रतिक्रिया दिनुहोस्