काठमाडौं ९ भदौ। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा सोमबार जिल्ला अदालत चितवनमा रवि लामिछानेसहित तीनैजनाको बयान लिइएको छ ।
आइतबार अस्मिता कार्कीको बयान लिइएको थियो । सोमबार रवि लामिछाने र युवराज कँडेलको बयान लिइएको हो ।
बयान सकिएपछि सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुने छ ।
बयान लिएर बहस गर्ने काम आजै सकिए अदालतले के गर्ने भन्ने बारेमा फैसला गर्ने छ । बहसका लागि वकिलहरु धेरै भएकाले सोमबार नै सकिने नसकिने यकिन छैन । पक्ष विपक्षमा बहस सकिए उनीहरुलाई तारेखमा छोड्ने वा धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने मध्ये कुनै एक आदेश अदालतले दिन सक्छ ।
पुडासैनी गएको साउन २० गते चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलयमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि साउन ३० गते तीनै जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले १० दिन लगाएर अनुसन्धान गरेपछि आइतबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले आइतबार नै अदालतमा आत्महत्या दुरुत्साहनको मुद्धा दायर गरेसँगै अदालतले पक्राउ परेकाहरुको बयान लिन सुरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्