काठमाडौं, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेताहरुलाई आफुखुशी बोल्न र सार्वजनिक रुपमा नेताहरुको आलोचना गर्न नपाउने निर्णय गरेको छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक आज बसेको सचिवालय बैठकले आफ्ना नेताहरुप्रति कुनै गुनासो वा व्यक्तिगत तिक्तता भए पार्टीभित्रै छलफल गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको हो । बैठले नेताहरुलाई आफुखुशी बोल्न र सार्वजनिक रुपमा नेताहरुको आलोचना गर्न नपाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । बैठकमा अध्यक्ष प्रचण्डले पार्टीभित्र खस्किंदै गएको अनुशासन सुधार गर्न आवश्यक रहेको बताउनुभएको थियो ।
वधान अन्तर्गत ४ जना सदस्यलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । मनोनयमा हुनेमा देवेन्द्र पराजुली, कल्पना धमला, पद्म राई, किरण राई रहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यससँगै नेकपाको केन्द्रीय सदस्य संख्या ४ सय ४५ पुगेको छ । बैठकले कानुनमन्त्री भाुनभक्त ढकाललाई सुरक्षा विभाग प्रमुख र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई प्रादेशिक मामिला उपप्रमुखमा नियुक्त गरेको छ । यस्तै पत्रकार तथा लेखक विष्णु रिजाललाई विदेश विभागको उपप्रमुखको जिम्मेवारी दिईएको छ । सचिवालय बैठकले विभिन्न जिल्ला, जनवर्गिय संगठन र विभागका उपप्रमुख र सहइन्चार्जहरुको नियुक्त र जिम्मेवारी हेरफेर पनि गरेको छ ।
बैठकले उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै शुभकामना प्रस्ताव समेत पारित गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको काम अघि बढाउन सहमति दिएपछि अर्का अध्यक्ष प्रचण्डले पहिलो पटक नेकपाको बैठक बोलाउनुभएको हो । पार्टी अध्यक्ष भएको १५ महिनापछि प्रचण्डले औपचारिक रुपमा नेकपाको बैठक बोलाउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्