काठमाडौं, १० भदौ । कोशीबाट पीडित भएकाहरुले क्षतिपूर्तिको माग गर्दै ११ दिनदेखि कोशी ब्यारेजमा अनशन जारी राखेका छन् ।
कोशी नदी कटान डुबान सङ्घर्ष समितिले आफ्ना तीन सूत्रीय माग राख्दै कोशी ब्यारेजमा रिले अनशन जारी रखेको सङ्घर्ष समितिका अध्यक्ष महिदेव चौधरीले बताउनुभयो । कोशी ब्यारेज निर्माण भएका बेला इसं १९५४ मा भारत र नेपाल सरकारका प्रतिनिधिबीच भएको सम्झौताअनुसारको क्षतिपूर्तिको रकम पाउनुपर्ने माग गर्दै आफूहरुले रिले अनशन शुरु गरेको उहाँले बताउनुभयो ।
कोशीपीडितले आफूहरुको ५३ हजार बिघाभन्दा बढी जग्गा क्षति भएकामा सात हजार बिघा जग्गाको ‘भेरिफिकेशन’ गरेर त्यसवापतको क्षतिपूर्ति रकम दिन भारतीय अधिकारीले नेपाल सरकारलाई रु ८० करोड उपलब्ध गराएको भए पनि अहिलेसम्म त्यो रकम नपाएको गुनासो गरेका छन् । ब्यारेज बनेपछि घरखेत र बाली गुमाएका परिवारलाई भारत सरकारले क्षतिपूर्ति रकम उपलब्ध गराउने सम्झौता गरे पनि हालसम्म १५ हजारभन्दा बढी परिवारको ५३ हजार बिघाभन्दा बढी जग्गा क्षति भएको पीडितको भनाइ छ ।
कोशी पीडितहरुको जायज मागप्रति प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले समर्थन जनाउनुभएको छ । आज अनशन स्थल कोशी ब्यारेजमै पुगेर मन्त्री साहले पीडितहरुलाई आश्वासन दिनुभयो । उहाँले प्रदेश सरकारले कोशी पीडितहरुको माग पुरा गराउन आफ्नो तर्फबाट संघीय सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । मन्त्री साह करिब एक घण्टा अनशनकारीहरुसँगै मञ्चमा बस्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्