ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असारे विकासको परिणाम : यात्रु र सवारीको बिचल्ली


एबीसी न्यूज
११ भदौ २०७६, बुधबार   २ : २७   बजे


काठमाडौं, ११ भदौ । आर्थिक वर्षको अन्तमा काम शुरु गरेर अलपत्र बनेको दुई नगरपालिका जोड्ने सडकका कारण यात्रु प्रभावित भएका छन् ।राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका जोड्ने भद्रवास–वाग्मती–बिपी चोक सडकको वाग्मती–भद्रवास खण्ड असार पहिलो साता काम शुरु गर्दा अलपत्र बनेको हो । दुईतिर पर्खाल लगाइएको करीब ४७१ मिटर सडकको दूरावस्थाका कारण सवारी चल्न सक्ने अवस्था छैन ।

सडकमा हिलो भएपछि पैदल यात्रु पनि हालै लगाइएको पर्खाल माथिबाट मात्र हिँड्न सक्छन् । पर्खालको चौडाइका कारण एकातिरबाट मात्र पैदल हिँड्न सकिन्छ । एकतिरको पर्खालबाट पैदल यात्रु आउजाउ गर्दा खस्न सक्ने समस्या हुने गरेको छ ।

बिपी चोकबाट मोटरसाइकल लगायत सवारीसाधन लिएर जानेले वाग्मती पुलमाथि राखेर हिँड्नुपर्छ । भद्रवासबाट मोटरसाइकललगायत सवारीसाधन लिएर आउनेले भद्रवासको आदर्श माध्यमिक विद्यालय नजिकै राख्नुपर्ने बाध्यता छ । विद्यालय अघिको सडक पनि हिलोले जीर्ण छ । बनाउन नगरपालिकालगायत सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।

यो सडकबाट साँखु र भक्तपुरको चाँगुनारायण जान यस क्षेत्रका मानिसलाई सहज हुन्छ । स्थानीयवासी कृष्णदेव पुडासैनी आर्थिक वर्षको अन्त्यमा रकमान्तर भई आएको बजेटले हतारमा काम गर्दा सम्पन्न हुन नसकेको बताउनुहुन्छ ।

पर्खाल लगाएको एक महीनामा केही ठाउँमा भत्किएको छ । आर्थिक वर्षको अन्त्यमा बजेट आएर बनाइएको भनिएको सडकमा कतै पनि आयोजनासम्बन्धी सूचना राखिएको छैन । हतारमा सडक बनाइएकाले प्राविधिक अध्ययनसमेत नगरिएको स्थानीयवासीको भनाइ छ ।

स्थानीयवासी हरिकृष्ण श्रेष्ठ प्राविधिक अध्ययन नगरी सडकको दायाँबायाँ पर्खाल लगाउँदा कहिले डुबानमा नपर्ने बलौटे माटो भएको खेतसमेत जलमग्न भएको बताउनुहुन्छ । यस क्षेत्रको वाग्मतीको फाँटमा अझै पनि धेरै खेती भइरहेको छ । पर्खाल लगाएपछि यस वर्ष लगाइएको मकैसमेत राम्रो उत्पादन भएन । धान पनि नफल्ने किसानको चिन्ता छ । जग्गा प्लटिङ गराउने उद्देश्यले मिलेमतोमा रातारात पर्खाल लगाएको पीडित कृषकको गुनासो छ ।

खेतको बीचमा यसै वर्ष बनाइएको घर पनि महीनौँदेखि डुबानमा परेको छ । कुनै सवारी सडक पार गर्न खोजे हिलोमा फस्ने गरेका छन् । निकाल्न डोजर बोलाउनुपर्छ । यो सडक पार गर्ने यात्रु असारे विकासको परिणाम स्वरुप यस्तो भएको बताउँछन् । यात्रु शर्मिला नगरकोटी विकासका नाममा जनतालाई दुःख दिने काम भएको बताउनुहुन्छ । कागेश्वरी मनोहरा नगरपालिका–३ मा यो सडक पर्छ । वडा अध्यक्ष राममणि पुडासैनी तीन वटा उपभोक्ता समिति बनाएर ४७१ मिटर सडकमा पर्खाल लगाइएको बताउनुहुन्छ ।

“काठमाडौँ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौँबाट रु एक करोड ५० लाखमा यो योजना सञ्चालन गरिएको हो, यो बजेटबाट साउनेमूलतिर पनि पर्खाल लगाउन रु १५ लाख खर्च गरियो”, उहाँले भन्नुभयो । पर्खाल लगाउनु अघि धेरैतिरबाट निकास गएर डुबानमा पर्ने समस्या नहुने गरेको वडाध्यक्ष पुडासैनीले स्वीकार गर्नुभयो । आवको अन्त्यमा ठेक्का लगाउने समय नभएकाले ४७१ मिटर सडकमा पर्खाल लगाउन तीन वटा उपभोक्ता समिति बनाउन बाध्य हुनुपरेको वडा कार्यालयले जनाएको छ ।

रुपेन्द्र पुडासैनी, सुरज पुडासैनी र शालिकराम पुडासैनी गरी तीन जनालाई तीन उपभोक्ता समितिको अध्यक्ष बनाइएको वडा सदस्य बद्री पुडासैनीले जानकारी दिनुभयो । तीन वटा उपभोक्ता समिति बनाइए पनि काम भने ओखलढुङ्गातिरको निर्माण व्यवसायी ल्याएर गरिएको स्थानीयवासीले सुनाए ।

आवको अन्त्यमा आएको बजेट खर्च गर्न सार्वजनिक खरीद ऐन र नियमावलीको प्रावधान विपरीत रु एक करोडभन्दा माथिको योजना पनि तीन वटा उपभोक्ता समिति गठन गरेर सम्पन्न गरी कागजात बनाइएको हो । वडा कार्यालयले काम सम्पन्न भएको दाबी गरेपनि सडक अलपत्र छ । सवारी पास हुँदैन । पैदल यात्रु पर्खालबाट तल झरेर हिँड्न सक्दैनन् । दुईतिरको पर्खालले पानी पास नहुँदा यस क्षेत्रको धान खेतीमा प्रभाव परेको स्थानीयवासी श्रेष्ठको गुनासो छ । प्राधिकरणका इञ्जिनीयर रञ्जन सिलवाल अर्थ मन्त्रालयका सचिवलाई पटकपटक आवको अन्त्यमा बजेट नपठाउनुस्भन्दा पनि पठाएर हतारमा काम गराएको स्वीकार गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group