काठमाडौं, १२ भदौ । प्रतिनिधि सभाको बिहीबारको बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७६’ लाई बहुमतले पारित गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले त्यो विधेयक बैठकमा प्रस्तुत गर्नुभएको थियो ।
विधेयकमाथि सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले सबैलाई समानुपातिक रुपमा विज्ञापन उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारको समर्थनमा रहनेलाई मात्रै विज्ञापन उपलब्ध गराउने भन्ने प्रचारसमेत गलत रहेको बताउनुभयो ।
सरकारको भजन गाउनेलाई मात्र विज्ञापन दिने कुरा किमार्थ हुँदैन, त्यसलाई हामी व्यवहारमा नै देखाउछौँ उहाँले भन्नुभयो, यसमा कुनै शङ्का गर्नुपर्ने आधार छैन । उहाँले विधेयकले भ्रष्टाचार रोक्ने, कर छल्नेलाई नियन्त्रण गर्ने र कुन संस्थाले के कति मात्रामा विज्ञापनमा खर्च गर्छ भन्ने विषय पारदर्शी हुने बताउनुभयो । विज्ञापन विधेयक नेपालको हकमा नयाँ विषय समेटिएको कानुन हो । विज्ञापन प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको विषय होइन भन्दै उहाँले विधेयकले समानुपातिक विज्ञापन प्रणाली र क्लिन फिडलाई समेत समेटेको बताउनुभयो । कानुनअनुसार दर्ता भएका सञ्चारमाध्यमले राज्यका तर्फबाट ‘इन्सेन्टिभ’ दिने व्यवस्था गरेको उल्लेख गर्दैै मन्त्री बाँस्कोटाले राज्यप्रति समर्पित हुनेलाई मात्र विज्ञापन दिने हो की भन्ने आशङ्का नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ुपक्षपातको सम्भावना हुँदैन, राज्यले पक्षपात गर्दैन । सांसद पुष्पा भुसाल, दिव्यमणि राजभण्डारी, रेनुका गुरुङलगायतले विधेयकमाथि जिज्ञासा राख्नुभएको थियो ।
यस्तै बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति विमलप्रसाद श्रीवास्तवका तर्फबाट सांसद सोमप्रसाद पाण्डेयले ‘औद्योगिक व्यवसाय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्