काठमाडौं, १३ भदौ । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारमा जोड दिनुपर्ने बताउनुभएको छ । वीरेन्द्रनगर–१२ नेवारेस्थित अमरज्योति नमूना माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सवमा उहाँले शैक्षिक गुणस्तर सुधार गर्न सरोकारवाला सबै एकजुट बन्नुपर्ने बताउनुभएको हो ।
“राज्यले वर्षेनी करोडौँ बजेट विद्यालय शिक्षामा लगानी गरे पनि सन्तोषजनक उपलब्धि देखिएको छैन”, सभामुख शाहीले भन्नुभयो, “शैक्षिक गुणस्तर सुधार गर्न राज्यमात्र नभई शिक्षक, विद्यार्थी, अभिभावक सबै चिन्तित बन्नुपर्ने अवस्था आएको छ ।” उहाँले गुणस्तरीय शिक्षाबिना कर्णाली प्रदेश समृद्ध बन्न नसक्ने विचार व्यक्त गर्नुभयो ।
नेपाली भाषाको उद्गम थलो भएकै प्रदेशका विद्यार्थीहरु नेपाली विषयमा नै कमजोर हुनु दयनीय अवस्था भएको उहाँले बताउनुभयो । उहाँले स्थानीय र प्रदेश सरकारले विद्यालय तहको नतिजामा सुधार ल्याउन विशेष कार्यक्रमको खाँचो औँल्याउनुभयो ।
सभामुख शाहीले विभिन्न परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी तथा अतिरिक्त क्रियाकलापका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम आचार्यले कर्णाली प्रदेशभरिका विद्यार्थी अध्ययन गर्न आउने भएकाले अमरज्योतिमा भौतिक पूर्वाधारको विकासका लागि पहल गर्न सभामुखलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्