सिरहा , १४भदौं । सिरहाको बन्दीपुरबाट यही भदौ १० गते अपहरित ५ वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ । पत्नीलाई भगाउन सहयोग गरेको आरोप लगाउँदै भारतको विहार सितामढीका शोभित मुखियाले आफन्त बच्चा यादवको ५ वर्षीय छोरालाई अपहरण गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सिरहाद्वारा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अपहरणकारीलाई सार्वजनिक गर्दै बालकलाई अभिभावकको जिम्मा लगाइएको छ । मुखियाले पत्नी सुरेखालाई भगाउन बालकका बुबा-आमाले सहयोग गरेको आरोप लगाउँदै सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरमा शंकर कार्कीको घरमा डेरा गरी बस्ने बच्चा यादवको छोरा शिवमलाई अपहरण गरेका थिए ।
अपहरणकारीले बालकका बुबा-आमालाई फिरौती बापत पत्नी सुरेखालाई फिर्ता मागेका थिए । पत्नीलाई फिर्ता पाउन बालकलाई अपहरण गर्नु सिरहामा पहिलो घटना हो । यसअघि अपहरणकारीले अपहरितलाई फिर्ता दिन फिरौती रकम माग्ने गरेका थिए । रौतहटको कटहरिया नगरपालिका ६ का बच्चा यादव र भारतको सितामढीका शोभित मुखिया छ महिनादेखि कार्कीको घरमा छुट्टाछुट्टै डेरा गरी बस्दै आएका थिए ।
चटपटे व्यवसाय गर्ने मुखिया बाहिर गएको बेला भदौ २ गते उनकी पत्नी सुरेखा मुखिया भागेपछि शोभितले आफ्नो पत्नी भगाउन बच्चा यादव र उनकी पत्नी सुखनीदेवी यादवले सहयोग गरेको आरोप लगाइरहेका थिए । मुखियाले आफ्नी पत्नीलाई भगाउन सहयोग गरेको आरोप लगाउँदै भारतको विहार सीतामढीका मुखियाले बच्चा यादवको ५ वर्षीय छोरा शिवमलाई गत मङ्गलबार अपहरण गरेका थिए ।
यही क्रममा यादव दम्पतीलाई पत्नी फर्काउन दबाब दिन शोभितले शिवमको अपहरण गरेको अनुसन्धानबाट खुलेको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । बालकको अपहरण गर्ने शोभितले बारम्बार यादव दम्पतीलाई फोन गरेर मेरो पत्नीलाई फिर्ता गरिदे, छोरालाई लिएर जा भन्दै फोन गरेकाले लोकेशन पत्ता लगाउँदै गएपछि शोभितलाई बालकसहित पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक चतुर्वेदीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्