काठमाडौं, १९ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले यही भदौ २४ गतेदेखि ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण प्रारम्भ गर्ने भएको छ ।
जागरण अभियानका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अभियान बिपी कोइरालाको १०६औँ जन्म जयन्तीका दिन भदौ २४ गते प्रारम्भ भई असोज ७ गते समापन हुने बताउनुभयो । दोस्रो चरणको अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायत विभिन्न १५ उद्देश्य निर्धारण गरिएका छन् ।
जागरण अभियानको दोस्रो चरणमा पूर्वघोषणा अनुरूप ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत अभियान सम्पन्न गरिनेछन् । जसअनुरूप हरेक क्षेत्रमा एकका दरले ३३० केन्द्रीय प्रतिनिधि खटिने उहाँले बताउनुभयो । काङ्ग्रेसले प्रथम चरणमा ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको थियो । जागरण अभियानको प्रथम चरण वैशाख २५ मा प्रारम्भ भई जेठ २५ मा समापन भएको थियो । एक महिने प्रथम चरणपश्चात् दोस्रो चरण १५ दिनको रहेको छ ।
प्रवक्ता शर्माले भन्नुभयो, “अभियानका औपचारिक कार्यक्रम छरितो हुने र वक्ता सीमित सङ्ख्या तथा बढी अन्तरक्रियात्मक हुनेछन् । अभियानको दोस्रो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले ‘बोल्ने कम, सुन्ने बढी’ प्रकृतिका कार्यक्रम निर्धारित छन् ।”
प्रतिक्रिया दिनुहोस्