काठमाडौँ, २७ जेठ । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिनु भएको छ । कार्यकारी निर्देशक कार्कीले मङ्गलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समक्ष राजीनामा पेस गर्नुभएको हो ।
२०६९ मङ्सिर १९ गतेको मन्त्रिपरिषद् निर्णयबाट पहिलो पटक चार वर्षका लागि नियुक्त भएका कार्की २०७३ माघ ६ गते दोस्रो पटक थप चार वर्षका लागि नियुक्त भएका थिए । तर दोस्रो कार्यकालको ६ महिना अवधि बाँकी हुँदै कार्कीले पदबाट राजीनामादिनु भएको हो ।
केही समय अघि रेडियो नेपालबाट प्रसारण डा. बाबुराम भट्टराईको विवादास्पद अन्तर्वार्ता लिएको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्यकारी निर्देशक कार्कीलाई तीन दिने स्पष्टीकरण माग गरेसँगै उहा चर्चामा आउनु भएको थियो
‘रेडियो नेपालबाट मिति २०७७र०१र१५ गते सोमबार बिहान ६ः३० बजेको अन्तर संवाद कार्यक्रममा पूर्व प्रधानमन्त्री श्री बाबुराम भट्टराईलाई आमन्त्रण गरी जातीय विद्वेष, घृणा उब्जाएको, सत्ता कब्जा, पङ्गु, निरङ्कुश शासक र भष्माशुर जस्ता भ्रमपूर्ण र लाञ्छनायुक्त शब्द सरकारका विरुद्धमा प्रयोग भएको संवाद प्रत्यक्ष प्रसारण भएको पाइएको हुँदा यस सम्बन्धमा के कस्तो भएको हो ? तीन दिन भित्रमा स्पष्टीकरण पेस गर्नुहुन मिति २०७७/०१/१५ गतेको माननीय मन्त्री स्तरीय निर्णयअनुसार अनुरोध छ’ मन्त्रालयकी सहसचिव राधिका अर्यालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्