काठमाडौं, २९ जेठ । प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको मिडियाको विश्वसनीयता सम्बन्धी अध्ययन र सर्वेक्षण प्रतिवेदन बदनियतपूर्ण, अवैज्ञानिक, गलत नियतबाट प्रेरित र हांस्यास्पद रहेको नेपाल मिडिया सोसाइटीले बताएको छ ।
बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै सोसाईटीले, प्रेस काउन्सिल नेपालले आँफै बोक्सी आँफै धामीजस्तो गरेर आफै सर्भेक्षण गर्ने र आफंै प्रतिवेदन तयार गरी आफंैले बुझ्ने अचम्मको विधि अपनाउंदै प्रतिवेदन सार्वजनिक गरेर हांस्यास्पद तमासा देखाएको बताएको हो ।
पत्रपत्रिका, टेलिभिजन, रेडियो र र अनलाइन गरी २० हजारभन्दा बढी आमसञ्चारमाध्यम क्रियाशिल रहेको र त्यसका करोडौं उपभोक्ता नेपाल र विदेशमा रहेकोमा जम्माजम्मी १७६ जनामा सर्भेक्षण गरी मुलधारको सञ्चारमाध्यमको तेजोबध गर्ने कुत्सित उदेश्यले प्रेरित कृत्य हो भन्ने ठहर गरेको सोसाइटीले जनाएको छ ।
काउन्सिलले नेपाल पत्रकार महासंघका अध्यक्षको संयोजकत्वमा गठित भनिएको सर्वेक्षण टोलीको कामले नेपाल पत्रकार महासंघको गरिमामय इतिहासमाथि समेत धव्वा लगाउने काम गरेको साथै सर्वेक्षण प्रणालीको प्राज्ञिक र वैज्ञानिक विधिको समेत हुर्मत लिएको बताएको छ ।
उक्त सर्वेक्षणले नेपाली मिडिया उद्योग र नेपालको स्वतन्त्र पत्रकारितालाई हतोत्साहित गर्ने नियत रहेको देखिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । सर्वेक्षणमा सर्वेक्षणको सामान्य प्रचलन र मान्यताको समेत धज्जी उडाएर विधीको शासन र स्वतन्त्र पत्रकारिताको मर्ममा प्रहार गरिएको नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कंडेल द्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उक्त प्रतिवेदन अनर्गल कुराले भरिएको भन्दै त्यसकारण तुरुन्त रद्द गर्दै प्रेस काउन्सिल नेपालबाट नेपाली मिडियाकै हुर्मत लिने कार्य हुन पुगेकोमा क्षमा याचना गर्नुपर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्