ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपतिमा जलहरी राखेकै दिन सर्वोच्चले दियो नराख्न आदेश


एबीसी / संवाददाता
१२ फाल्गुन २०७७, बुधबार   ५ : ०९   बजे

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले दायर गरेको छुट्टाछुट्टै रिटमाथि सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने कार्य नगर्नु भनी अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो । यस विषयमा अन्तरिम आदेश दिने या नदिने विषयमा छलफल गर्न दुवै रिट निवेदक र सरकार दुबै पक्षलाई फागुन १७ गते छलफलमा बोलाएको छ । सर्वोच्चले जलहरी राख्नुको लिखित कारण पनि सरकारसँग माग गरेको छ । सर्वोच्चले जलहरी नराख्न अन्तरकालीन आदेश जारी गरेकै दिन विहान ११ : ४५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट पशुपतिनाथ मन्दिरमा जलहरी राखिसकिएको छ ।

पशुपतिनाथ मूलमन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको पीठिका (जलहरी) स्थापना गरिएको छ । राष्ट्रवासीका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले १०८ किलो सुनबाट बनेको पीठिकामा आज बिहान पूजा एवं प्राण प्रतिष्ठा गर्नुभयो ।
प्राणप्रतिष्ठासहितको पूजा एवं अनावरणपछि पशुपतिनाथका मूलभट्टसहित भट्टहरुले ज्योतिर्लिङ्गमुनि सुनको पीठिका स्थापना गर्नुभएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । ज्योतिर्लिङ्ग भएका स्थानमा पशुपतिनाथका पुजारीबाहेक अरुले छुन नपाउने विधि छ । विसं १८३८ मा रणबहादुर शाहका पालामा माघ शुक्ल पञ्चमीका दिन राखिएको चाँदीको पीठिका जीर्ण भएपछि २०२४ साल माघ शुक्ल पञ्चमीकै दिन मर्मत गरिएको अभिलेख पशुपतिमा रहेको पनि उहाँले जानकारी दिनुभयो । विसं २०२४ मा चाँदीको पीठिकामा गरिएको मर्मत फेरि जीर्ण भएपछि सुनको पीठिका निर्माण गरिएको कोषले जनाएको छ ।

सुनको पीठिका स्थापना गर्नुअघि गत शनिबारदेखि पशुपतिनाथ मूल मन्दिरमा १२५ ब्राह्मणले क्षमा पूजा गरेको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताउनुभयो । पूजा गर्न २५ ब्राह्मण दक्षिण भारतबाट ल्याइएको थियो । सो अवसरमा रुद्राभिषेक, चार वेद र शिवपुराण पाठपारायण एवं वास्तु र तन्त्र विधिबाट समेत पूजा आराधना गरिएको पनि उहाँले बताउनुभयो । सोक्रममा राष्ट्रपति भण्डारीले दक्षिण भारतबाट विशेष निमन्त्रणा गरिएका पाँच ब्राह्मणबाट गरिएको शान्तिपाठ श्रवण गर्नुभएको कोषले जनाएको छ ।

प्राणप्रतिष्ठापछि राष्ट्रपति भण्डारीले राष्ट्रको शान्ति र अमनचयनका लागि सङ्कल्प प्रार्थना गर्नुभएको थियो । उहाँका सञ्चार तथा सूचनाविज्ञ टीका ढकालका अनुसार उक्त पूजाआजा करीब ४५ मिनेट चलेको थियो । त्यसपछि राष्ट्रपतिले सो क्षेत्रका शक्तिपीठको दर्शनसमेत गर्नुभयो । समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकाल र सचिव यादव कोइराला, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, कोषका पदाधिकारीलगायत अधिकारीको उपस्थिति थियो ।

पीठिकापछि पशुपतिनाथस्थित मूल मन्दिरको छाना र बसाहामा समेत सुनको लेप लगाउन लागत स्टिमेटको काम भइरहेको छ । यसका लागि २० किलोसम्म सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पशुपतिमा सुनको पीठिका निर्माण, छाना र बसाहामा सुनको लेपन एवं चाँदीको काम गर्न करीब रु एक अर्ब लाग्ने कोषको प्रारम्भिक अनुमान छ । यसका लागि सरकारले संस्कृति मन्त्रालयका तर्फबाट रु ३० करोड सहयोग गरेको थियो । अरु स्रोत कोषले नै जुटाएको हो ।
यसैगरी पशुपतिका चार ढोकामा रहेको चाँदीसमेत मर्मत गरिने भएको छ । पशुपतिनाथको मूल मन्दिरका चार ढोका र वरिपरि चाँदीको लेप लगाइएको छ । यसका लागि हाल लागत अनुमानको काम भइरहेकाले लगत्तै छाना र बसाहामा सुनको लेप एवं चाँदीको काम शुरु गरिने कोषले जनाएको छ । महाशिवरात्रिअघि नै पशुपतिनाथ मन्दिरलाई नयाँ स्वरुपमा परिणत गर्ने कोषको तयारी छ । यस वर्ष यही फागुन २७ गते महाशिवरात्रि पर्व परेको छ ।
पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमा सुनको जलहरी राख्नु प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत रहेको जनाउँदै कोषका पूर्वकोषाध्यक्षसमेत रहनुभएका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नीलम ढुङ्गानाले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । कोषले भने सम्पदा मास्ने गरी ऐन विपरीत काम नभएको जिकिर गरेको छ । अदालतको शिरोपर गरिने कोषका सदस्य सचिव डा ढकालले बताउनुभयो । उहाँका अनुसार यसअघिको चाँदीको जलहरी नहटाई त्यसैमाथि सुनको जलहरी राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group