ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेमको होली – प्रेमचन्द


ABC NEWS
२२ फाल्गुन २०७९, सोमबार   ७ : ५३   बजे

गंगी १७ वर्षकी मात्र थिई, तर ऊ तीन वर्षदेखि विधवा थिई। र, जान्दथिई कि ‘म विधवा हुँ, मेरो लागि संसारको सुखको ढोका बन्द भइसकेको छ।’ फेरि ऊ किन रुन्थी वा कल्पन्थी? मेलाबाट सबैजना त मिठाईको टपरी र फूलको हार लिएर फर्कंदैनन्। कतिलाई त मेलामा सजाइएका दोकान र त्यहाँ उभिएर मोलमोलाइ गरिरहेका महिला-पुरुषलाई नियाल्नुमै मनोरञ्जन मिल्छ।

गंगी खान्थी-पिउँथी, हाँस्थी-बोल्थी। कसैले उसलाई निन्याउरो अनुहार बनाई बसेको वा आफ्नो भाग्यलाई सरापेर रोएको कहिल्यै देखेन। झिसमिसेमै उठेर गोबर सोहोर्नु, गाईवस्तुलाई कुँडोपानी दिनु, गुइँठा पार्नु उसको नित्य नियम थियो। त्यसपछि ऊ आफ्नो दाजुलाई गाई दुहुनका लागि जगाउँथी। फेरि कुवाबाट पानी लिएर आउँथी, त्यसपछि, चुलो-चौकोको काम शुरू हुन्थ्यो।

गाउँकी भाउजू ऊसँग हँसीमजाक गर्थी, खालि एउटा विशेष प्रकारको मजाक छोडेर। साथीहरू घरबाट माइत आउँदा उसलाई आफ्ना सारा कहानी बेलिबिस्तार लगाउँथे, तर एउटा विशेष प्रसङ्ग बचाएरै राख्थे। जुन सानो गल्तीका लागि उसको भाउजूमाथि ठूलै सङ्कट पर्थ्यो, उसकी आमाले गालीगलौज सुन्नुपर्थ्यो र भाइले चुटाइ भेट्थ्यो, ती गल्तीहरू उसका लागि भने क्षम्य थिए।

जसलाई ईश्वरले नै सजाय दिएको थियो, उसलाई अरू कसैले के सजाय देओस्? जे कुरा उसका लागि वर्जित थिए, त्यसमा ऊ स्वयं मन गर्दिनथी। मानौं, उसका लागि ती कुराको अस्तित्व नै थिएन। जवानीको त्यो टिलपिल सागरमा मदहोशी लहर थिएन, न त भयानक गर्जन नै थियो। थियो त बस्, अटल शान्तिको साम्राज्य!

होली आयो, सबैले गुलाबी साडी लगाए, गंगीको साडीमा भने रङ्ग थिएन। आमाले सोधी, “छोरी, तेरो साडी पनि रङ्ग्याइदिऊँ?”

गंगीले भनी, “नाइँ अम्मा, यस्तै ठीक छ।”

उसकी भाउजूले फागुको गीत गाई। ऊ भने परिकारहरू पकाइरही। उसलाई यसैमा आनन्द आउँथ्यो। तेस्रो प्रहर पल्लो गाउँका मान्छेहरू होली खेल्न आए, यताका पनि त होली फर्काउन जान्छन्। गाउँको चलन नै यही हो।

मैकु महतोले भाङ बनाएर राखेको थियो। गाँजा, चरेश, मिठाई, सबथोक ल्याएका थिए। भाङ पिस्ने गंगी नै थिई। गुलियो अलग्गै बनाएकी थिई, नुनिलो अलग्गै। पाहुनालाई पिलाउने भाइ थियो, हात धुलाउने गंगी थिई। जवानहरू चूपचाप शिर निहुराएरै पिइसक्थे र फर्कन्थे। बूढापाकाहरू भने जिस्क्याउँथे गंगीलाई, “छोरी, तँलाई आराम त छ? कसरत धेरै गर्छेस् कि भाउजूले राम्रो खान दिन्न! यति दुब्ली भइसकिस्!”

गंगी बस् हाँसी मात्र रहन्थी। शरीर उसको वशमा कहाँ थियो र? थाहा छैन, ऊ किन मोटाउँदै जाँदै थिई!

भाङ पिएपछि मान्छेहरू फागु गाउन थाले। गंगी आफ्नो ढोकामा उभिएर सुनिरहेकी थिई। एउटा जवान ठाकुर गाइरहेको थियो। कति राम्रो आवाज थियो, कति मीठो! गाना सुनेर गंगी आनन्द मानिरहेकी थिई।

आमाले कत्ति पटकसम्म बोलाइन्, “सुन् त!”

तर, ऊ गइन। एकपटक गएकी त हो, तर हतारले फर्किएर आएकी थिई। उसको ध्यान गानातिरै थियो। थाहा छैन, उसलाई के कुराले तान्दथ्यो, केले बाँध्थ्यो। जवान ठाकुर पनि घरी घरी गंगीतिर हेर्थ्यो र झन् मस्त हुँदै गाना गाउँथ्यो।

उसका वरिपरि बसिरहेका सबैजना चकित भइरहेका थिए। यस्तो सिद्धि ठाकुरलाई कहाँबाट मिल्यो! बिदा हुने वेलामा पनि गंगी ढोकामै उभिरहेकी थिई। जाँदाजाँदै, जवान ठाकुरले पनि ऊतिर हेर्‍यो र बिदा भयो।

गंगीले आफ्नो बाबुसँग सोधी, “त्यो गाना गाउने को थियो बापु?”

मैकुले छोरीलाई जवाफ दियो, “कोठारको बुद्धुसिंहको छोरो हो, गरीबसिंह। बुद्धु आउने-जाने गर्थे रीति-संस्कारतिर। ऊ बितेपछि उसको छोरो आउने-जाने गर्छ।”

गंगीः यहाँ त पहिलोपटक आएको हो?

मैकुः हो, मैले पनि आजै देखेको हुँ। तर, स्वभाव जुन छ, ठ्याक्कै उसको बापुको जस्तै। घमण्ड त थोरै पनि छैन। बुद्धुको भण्डारमा अन्न राख्न ठाउँ हुन्नथ्‍यो, तर चमारलाई देखे पनि, पहिला हात ऊ आफैंले उठाउँथ्यो। यसको पनि त्यस्तै छ स्वभाव!

गोरू आइरहेका थिए। गंगी दाम्लो लिन भित्रतिर दगुरी। त्यही आवाज उसको कानमा गुन्जिइरहेको थियो।

धेरै महीना बितिगए। एकदिन गंगी गोबर डल्याउँदै थिई। अचानक उसले देखी, त्यही ठाकुर शिर झुकाएर ढोकाबाट फर्किरहेको थियो। ऊ गोबर छोडेर झटपट उठी। घरमा कोही लोग्ने मान्छे थिएनन्। सबै बाहिर गएका थिए। ऊ भन्न चाहन्थी, ‘ठाकुर! बस, पानी पिएर जाऊ।’

तर, उसको बोली फुटेन। उसको छाती जोरसँग धड्किरहेको थियो। उसलाई एउटा अनौठो घबराहट महसूस हुन थाल्यो, ‘कसरी रोकूँ उसलाई?’

गरीबसिंहले पुलुक्क एकपटक ऊतिर आफ्नो चोर आँखा लगायो र नजर झुकायो। त्यो हेराइमा के त्यस्तो कुरा थियो, जसकारण गंगीका रोम-रोम ठाडा भए। ऊ दौडिंदै घर गई र आमासँग भनी, “अम्मा, त्यो ठाकुर गइरहेछ, गरीबसिंह!”

आमाले भनी, “केही कामले आएको थियो होला।”

गंगी फेरि बाहिरै फर्किई, तर त्यस वेलासम्म ठाकुर गइसकेको थियो। ऊ फेरि गुइँठा बनाउन थाली। गुइँठाहरू फुट्दै गएका थिए। उसका आँखाका अघि अझै पनि त्यही हेराइ थियो। आखिर के जादू थियो त्यसमा? के मोहनी थियो त्यसमा त्यस्तो? उसले आफ्नो मौन भाषामा केही भन्यो, गंगीले पनि केही सुनी। तर, के सुनी? यो ऊ जान्दिनथी। तैपनि त्यो हेराइ उसको आँखामै बसिदिएको थियो।

राति जब ओछ्यानमा पल्टिई, फेरि त्यही हेराइ उसको आँखा अघि आयो। सपनामा पनि त्यही हेराइ देखी।

त्यसपछिका केही महीना सामान्य बितिगए। एकदिन साँझको समय मैकु दैलोनेर बसेर आलस काँतिरहेको थियो। गंगी आँगनमा बसेर गाईवस्तुका लागि कुँडो पकाइरहेकी थिई। एक्कासि ठाकुरलाई देखेर गंगी चिच्याउँदै उठी, “बापु, बापु, ठाकुर!”

मैकुले जसै आफ्नो शिर उठायो, गरीबसिंह त्यही बाटो हुँदै कतै जाँदै गरेको देख्यो। मैकुले खुशी हुँदै गरीबसिंहलाई बोलायो, “कहाँ गरीबसिंह? बस एकैछिन, पानी पिएर जाऊ।”

मैकुलाई देखेर गरीबसिंह आँगनको एउटा मेचमा गएर बस्यो। ऊ थकित देखिन्थ्यो। बिरामी परे जस्तो! मैकुले सोधिहाल्यो, “कुनै बिमार पर्‍यौ कि के हो?”

गरीबः छैन त बापु।

मैकुः अनुहार त खस्केको छ, के हो, साउँ-ब्याजको चिन्तामा फसेर त होइन?

गरीबः तपाईं हुन्जेल त मलाई केको चिन्ता बापु?

मैकुः बाँकी, पाइसक्यौ होइन?

गरीबः अँ बापु, सबै चुक्ता भइसक्यो।

मैकुले गंगीसँग भन्यो, “जा छोरी, ठाकुरका लागि पानी लिएर आइहाल्। दाजु छ भने चिलम पनि दिन भन्।”

गरीबः भइहाल्यो बापु, चिलम रहन दिनुस्। म पिउँदिनँ।

मैकुः अरे, आफ्नै घरमा बनाएको छु, स्वाद त लिएर हेर। पिउन त पिउँछौ, थाहा छ।

गरीबः यति बेतमिज  नबनाउनु बापु। काकाको अघि कहिल्यै त्यसमा हात लगाएको छैन। तपाईंलाई मैले त्यही स्थान दिएको छु।

बोल्दाबोल्दै ठाकुरको आँखा भरिएको देखेर मैकुको हृदय पनि गर्वले भरिएर आयो। गंगी हातमा टोकरी लिएर मूर्ति जस्तै उभिइरहेकी थिई। उसका सारा चेतना, सारा भावना, गरीबसिंहको कुरामा अल्झिएको थियो। अरू केही सोच्न, अरू केही गर्न सकिरहेकी थिइन। आहा! कति विनम्र! कति सज्जन! कति संस्कारी!

मैकुले गंगीलाई अझै त्यहीं देखेर भन्यो, “छोरी, सुनिनस् कि के? जा गएर पानी लिएर आइहाल्।”

बाबुको आवाजले गंगी झसङ्ग भई। दौडिंदै भित्र गई र कचौरा माझी, त्यसमा थोरै मिश्री निकाली। फेरि लोटा-गिलास माझेर सर्बत बनाई। आमाले सोधी, “को आएको छ, गंगी?

गंगीः त्यही ठाकुर, गरीबसिंह! दूध त रहेनछ आमा, सर्बत बनाएँ, भएको भए मलाई मिसाइदिन्थें।

आमाः छ, किन छैन? हाँडीमा त हेर्।

गंगीले दूधलाई मलाई झिकेर उसले रसमा मिलाइदिई। गंगी लोटा-गिलास बोकेर बाहिर निस्किई। ठाकुरले गंगीतिर हेर्‍यो। गंगीको शिर आफैं झुक्यो। उसलाई किन यसरी लाज लागेको हो?

ठाकुरले रस लिंदै भन्यो, “राम राम!”

गंगी मुस्कुराई।

मैकुले गरीबसिंहलाई हेरेर फेरि भन्यो, “कति धेरै दुब्लाएको गरीबसिंह?”

गंगीले पनि मौकामा मनको उत्सुकता पोखी, “बिरामी छौ कि?”

जवाफ मैकुले नै दियो, “चिन्ताले हो, अरू त के छ? एक्लो मान्छे, अनि, ठूलो गृहस्थी! के गर्नु!”

गंगीलाई रातभर निद्रा परेन। उसलाई के चिन्ता रहेछ? बापुसँग पनि केही भनेन। किन त्यस्तो हिचकिचाइरहेको थियो? अनुहार पनि कति निन्याउरो भइसकेको छ। ऊ रातभर गरीबसिंहबारे सोचिरही।

बिहानै गंगीले आमासँग भनी, “गरीबसिंह आजभोलि धैरै दुब्लाइसक्यो त अम्मा।”

आमा बोली, “अब ऊ पहिला जस्तो बेफिक्री कहाँ छ छोरी? बापु हुँदा खाने, खेल्ने मात्र काम थियो, अब त घर सबै उसकै टाउकोमा छ।”
गंगीलाई आमाको जवाफले सन्तुष्टि दिएन। बाहिर गएर फेरि मैकुसँग भनी, “बापु, तपाईंले गरीबसिंहलाई सम्झाउनुभएन चिन्ता नगर्न?”

यस्तो कुरा सुनेर मैकुले आँखा फाँडेर गंगीतिर हेर्‍यो र भन्यो, “जा, आफ्नो काम गर्।”

गंगीमाथि मानौं भर्खरै बज्रपात भइदियो। त्यो कठोर जवाफ, त्यो पनि बापुको मुखबाट? हाय! बापुलाई पनि उसको केही चिन्ता रहेनछ। अब उसलाई कसले सम्झाइदिन्छ? अब ऊ आयो भने म आफैं सम्झाउँछु, गंगीले मन बनाई।

गंगी हरेक दिन ऊ आउँछ होला भन्दै बाटो हेर्दै बसिरही। तर, ऊ कहिल्यै आएन। दिन बित्यो, साता बित्यो, महीना बित्यो। फेरि पनि होली आयो।

गाउँमा फागुको रौनक शुरू भयो। उसका साथीहरूले फेरि गुलाबी साडी लगाए। फेरि रङहरू घोले, मैकुले यसपालि पनि भाङ, चरेस, गाँजा मगायो। गंगीले फेरि पनि गुलियो र नुनिलो भाङ बनाई। ढोकानेर गुन्द्री ओछ्याइयो। मान्छेहरू आउन थाले। तर, कोठारबाट कोही पनि आएन। साँझ पर्‍यो। कसैलाई थाहा थिएन। तर, गंगी छटपट गरिरहेकी थिई। कहिले ऊ भित्र जान्थी, कहिले बाहिर आउँथी। भाइसँग सोध्थी, “कोठारवालाहरू आए?”

भाइ जवाफ दिन्थ्यो, “आएका छैनन्।”

बापुसँग सोध्थी, “भाङ त सकियो बापु, कोठारवाला आए भने के पिउँछन्?”

बापुको जवाफ हुन्थ्यो, “अब यति राति को आउँछ? नजिकैको गाउँ छ, आउने भए दिउँसै आउँथे।”

रात पर्‍यो, तर गंगी अझै आश गरेर बसिरहेकी थिई। ऊ मन्दिरको माथि चढेर कोठारतिर चिहाउन थाली। कोही पनि यता आइरहेको थिएन। अचानक उसले त्यतै सिमानातिर आगो जलिरहेको देखी। हेर्दाहेर्दै त्यो ज्वाला दन्किन थाल्यो।

यो के? उता आज भर्खर होली जल्दै छ? होली त हिजै जलेको थियो! को जानोस्, शायद त्यहाँको पण्डितले होली जलाउने साइत आज बताइदिए होला! तब त तिनीहरू आज आएनन्। त्यसो भए तिनीहरू अब भोलि आउलान्!

गंगी मन्दिरबाट ओर्लिएर घर गई र बापुलाई सब कुरा बताउँदै भनी, “बापु, कोठारमा त आज होली जल्दै छ। त्यसैले तिनीहरू आएनन्, भोलि आउनेछन्।”

मैकुले हाँस्दै भन्यो, “थत् पग्ली! होली सबैतिर हिजै जलिसक्यो।”

गंगी आफ्ना आँखाले देखेको कुरामा जिद्दी गर्न लागी, “तपाईं मान्नुहुन्न, मैले मन्दिरबाट आफैंले देखेर आएकी छु। नपत्याए हेर्न त आउनुस्, मै देखाइदिन्छु।”

मैकु, “ठीक छ, लौ हेरौं के रहेछ। थाहा भइहाल्छ!”

मैकु पनि गंगीसँग मन्दिरको छतमा गएर हेर्न थाल्यो। एक मिनेटसम्म ध्यान दिएर हेरिराख्यो र चूपचाप तल ओर्लियो।

मैकु चूप भएको देखेर गंगीले खुशी हँदै भनी, “हो कि होइन रहेछ? मैले त भनेकै थिएँ, तपाईं मान्नुहुन्नथ्‍यो।”

मैकुले फेरि उस्तै गरी भन्यो, “होली होइन पग्ली, चिता हो। कुनै कोठारवाला मरे जस्तो छ, त्यसैले त आज त्यहाँबाट कोही पनि आएन।”

बापुबाट यस्तो नसोचेको कुरा सुनेर गंगीको मुटुको धड्कन तेज भयो। यत्तिकैमा कसैले तलबाट उसको बापुलाई बोलायो, “मैकु महतो, कोठारवाला गरीबसिंह मरेछ!”

खबर सुनेर मैकु हतार हतार मन्दिरबाट ओर्लियो। तर, गंगी अचानक खम्बा जस्तै जड भई। उसले केही पनि बुझ्न सकिन। उसले सबै कुरा बिर्सिई। म को हुँ, कहाँ छु, केही होश रहेन उसलाई। उसलाई बस् यस्तो लाग्यो कि त्यो जलिरहेको चिताबाट निस्केर गरीबसिंह उसलाई त्यही नजरले हेर्दै छ। उस्तै हेराइ! उस्तै अनुहार!

ऊ कसरी बिर्सिन सक्थी गरीबसिंहलाई? उसले कहिल्यै बिर्सिन सकिन। त्यस दिनपछि ऊ कहिल्यै गइन होली हेर्न। होली त हर साल आउँथ्यो। उसै गरी ऊ भाङ बनाउँथी हर साल। फागु हरेक साल गाइन्थ्यो, अबीर र रङहरू हर साल हावामा उड्थे। तर, गंगीको जीवनबाट होली सदाका लागि गइसकेको थियो।

-भारतीय उपन्यासकार मुन्सी प्रेमचन्दको हिन्दी कथा ‘प्रेम कि होली’ 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu