एकाबिहानै समाचार हेर्दा मन थाम्नै सकिनँ। सिमरा–जितपुरबाट आइतबार हराएकी सानी बच्ची तीन दिनपछि बलात्कारपछि हत्या गरिएको क्षतविक्षत अवस्थामा भेटिएको खबरले मनै बिचलित बन्यो। सञ्चार र सूचना प्रविधि, अझ सामाजिक सञ्जालका कारण आजकल संसारको कुनै कुनामा भएको घटना पनि क्षणभरमै सुन्न र देख्न सकिन्छ।
पाकिस्तानमा १८ महिनाकी सानी बच्ची बलात्कारमा परेको घटना सेलाउन नपाउँदै आफ्नै सिमरामा तीन वर्षकी बच्ची बलात्कृत भएको खबर सुन्नुपर्दा मन थामिन सकेन। शरीर नै झसङ्ग पार्ने, सुन्नसमेत नसकिने यस्ता घटनाहरू आजकल बारम्बार सुन्नुपर्दा कहिलेकाहीँ मन र मस्तिष्कले नै काम गर्न छाडेजस्तो हुन्छ।
सोच्दासोच्दै मन भारी भयो। आँखाबाट तपक्क आँसु झर्यो। त्यही बेला छोरा स्कुल जान तयार हुँदै थियो। स्कुल ड्रेसमा किताब हातमा च्यापेर स्कुल हिँड्न तयार भएको उसको अनुहार हेरेँ। मन भक्कानियो।
उसले पानीको बोतल माग्दै गर्दा मैले उसका आँखामा हेरेँ। बिचरा, उसलाई केही थाहा छैन। समाजमा यस्ता दुःखद र सुन्नै नसकिने घटना घटाउनेहरू पनि कसैका छोराहरू नै हुन्।
कसरी आउँछ मानिसभित्र यस्तो राक्षसीपन?
कुनै पनि बाबुआमा आफ्ना सन्तानलाई संसारको नम्बर एक बनाउन चाहन्छन्। उनीहरू सन्तानको भविष्यका लागि सपना देख्छन्, दुःख गर्छन्, संघर्ष गर्छन्। कसैका बाबुआमालाई दोष दिनु पनि उचित हुँदैन।
तर, प्रश्न त उठ्छ—मानिसमा यति सानो उमेरमै यस्ता अपराध गर्ने सोच कसरी आउँछ ?
कसरी त्यति सानी बालिकामाथि यौन हिंसा गर्न सक्छ एउटा १६ वर्षको बालकले? उसको मनमा किन यस्तो क्रूरता जन्मिन्छ? मानिसभित्र पशुभन्दा पनि तलको सोच कहाँबाट आउँछ?
अहिले सार्वजनिक भएका दुवै घटनामा आरोपीको उमेर १६ वर्ष रहेको बताइएको छ। यो सुन्दा मेरो मुटु काप्यो।
कसरी सहन सकी होली ती बच्चीले त्यति ठूलो, कल्पनासमेत गर्न नसकिने पीडा ?
शरीर पसिनापसिना भयो।
मेरो हातको पानीको बोतल लिएर छोरा गेटमै पुगिसकेछ। म भने त्यहीँ उभिइरहेँ। दिमाग शून्य हुने भनेको सायद यही होला। वरिपरि सबै कुरा घुमेजस्तो भयो। डिस्पेन्सरबाट पानी निकालेर एक घुट्को पिएँ, तर त्यो पानी पनि घाँटीमै अड्किएजस्तो भयो।
किन छोरीहरू लिङ्गकै कारण आज पनि स्वतन्त्र भएर सास फेर्न सकिरहेका छैनन् ?
कस्तो समाज निर्माण गर्दैछौँ हामी, जहाँ हाम्रो १६ वर्षको छोरा त्यति सानी बालिकामाथि बलात्कार मात्र गर्दैन, हेर्नसमेत नसकिने तरिकाले उसको हत्या गर्न पुग्छ?
के समाजमा पुरुष भनेका हिंसक जनावर नै हुन्?
होइन। पक्कै होइन।
त्यसो भए यस्ता हिंसक सोच जन्माउने कारण के हो?
के लिङ्गकै कारण आज संसारभर छोरीहरूले यति धेरै प्रताडना सहनुपर्ने हो? आजको युगमा पनि यस्ता बर्बरता र पाशविकता छोरीहरूले नै सहनुपर्ने किन?
मनभित्र आगो बलेजस्तो भयो।
दुनियाँ बदल्ने सपना बोकेर चन्द्रमामा बस्ती बसाल्ने पनि मानिस नै हो। संसार बदल्न सूचना र सञ्चारको यति ठूलो विकास गर्ने पनि मानिस नै हो। तर आफैँजस्तै मानिसमाथि पशुले गर्न नसक्ने क्रूरता गर्ने पनि मानिस नै हो।
किन यति आपराधिक सोच आउँछ मानिसमा?
के अब मानिसले यसको खोजी गर्ने समय भएन?
किन मानिस पशुभन्दा पनि हिंसक बन्छ?
किन मानिसले अर्को मानिसको दुःख, पीडा र विवशतामाथि खेल्दै मुटु नै हल्लाउने अपराध गर्न तयार हुन्छ?
के यो मानसिक समस्याको कारण हो? होइन भने एउटा सामान्य मानिसमा यस्तो क्रूरता कसरी जन्मिन्छ?
के सामाजिक सञ्जालले समाजमा विकृति बढाएको हो? के समाज नै नसुध्रिने गरी बिग्रिएको हो?
आँखा नै तिरमिराए। कति धेरै अनुत्तरित प्रश्नहरू छन्।
जसको उत्तर खै त?
आफैँलाई आफैँले प्रश्न गर्न मन लाग्यो। चिच्याएर रुन मन लाग्यो।
कसरी सहन सक्छन्, कसरी महसुस गर्न सक्छन् ती अबोधहरूले समाजका यस्ता डरलाग्दा अपराधहरू? जसले आमाको दूधसमेत छोडेका छैनन्, उनीहरूमाथि यति ठूलो क्रूरता?
पसिना पसिना भयो। आफूलाई मानिस भएकोमा लज्जाबोध भयो। महिला र आमा भएकोमा हीनताबोध भयो। कस्तो समाज निर्माण गरिएछ, जहाँ हामी आफ्नै छोराबाट छोरी सुरक्षित छैनन्?
मनले अनेक सोच्दै गयो।
हिंसा केवल कानुनी समस्या होइन, संस्कारको पनि समस्या हो।
आफैले जन्माएका दुई सन्तान—छोरा र छोरी। हामी सभ्य समाजका मानिस। अनि यस्ता घटना भइरहँदा यसको जिम्मेवारीबाट हामी अभिभावक पनि उम्कन सक्छौँ र?
हामीले निर्माण गरेको समाज हो यो।
‘छोरा भएर रुनु हुँदैन, निडर बन्नुपर्छ।’
‘छोरी भएपछि लजालु बन्नुपर्छ, सहनशील बन्नुपर्छ।’
के आज पनि हामीले सिकाइरहेको यही संस्कारका कारण कतै छोराहरूभित्र हिंसक सोच जन्मिरहेको त छैन?
किन आजको युगमा आइपुग्दा पनि लिङ्गकै कारण छोरीहरूले यस्ता बर्बरता सहनुपर्ने अवस्था छ?
मन भारी भयो।
हामी आमाहरूले आफ्नै छोरालाई एउटै दूध चुसाएर, एउटै माया दिएर, एउटै संस्कार दिएर हुर्काउँछौँ। एउटै घरमा छोरा र छोरी हुर्किन्छन्। तर किन कोही मानिसमा यति धेरै क्रूरता आउँछ?
किन यति धेरै पाशविकता आउँछ?
के हामीले छोरालाई असल मानिस बन्न सिकाउन चुकिरहेका हौँ?
छोरा–छोरी दुवैलाई बलियो बन्न सिकाऔँ। त्यो बल कसैलाई दबाउन होइन, कमजोरलाई जोगाउन प्रयोग होस्।
उनीहरूलाई निडर बन्न सिकाऔँ। त्यो निडरता एकअर्कामाथि हिंसा गर्न होइन, हिंसाको विरोध गर्न होस्।
छोरीलाई मात्र ‘आफूलाई जोगाऊ’ भनेर पुग्दैन। छोरालाई पनि ‘अरूलाई चोट नदेऊ’ भनेर सिकाउनुपर्छ।
छोरीलाई ‘सावधान भएर हिँड’ भन्नुअघि छोरालाई ‘कसैको स्वतन्त्रता र इच्छामाथि तिम्रो अधिकार छैन’ भनेर सिकाउनुपर्छ। छोरीलाई सहनशील बन्न सिकाउँदा छोरालाई संवेदनशील बन्न पनि सिकाउनुपर्छ। किनकि मानिस पुरुष होस् वा महिला, उसको दुःख, पीडा, आँसु र सम्मानको मूल्य बराबर हुन्छ।
हामीले छोरालाई महिलालाई आमा, दिदी, बहिनी वा छोरीका रूपमा मात्र सम्मान गर्न सिकाउने होइन। हामी सबै एकअर्काको सम्मानका हकदार हौँ भन्ने सिकाउनुपर्छ।
मानिस चेतनशील प्राणी हो। ऊ कुनै जनावर होइन, जे मन लाग्यो त्यही गर्ने। मानिसभित्र विवेक छ, नियम छ, अनुशासन छ, नैतिकता छ। यही चेतना र विवेकलाई बलियो बनाउने जिम्मेवारी परिवार, विद्यालय र समाजको हो।
यस्ता घटना हुँदा हामी तत्काल अपराधीलाई दोष दिन्छौँ। दोषीलाई कडा सजाय माग्छौँ। त्यो आवश्यक छ।
तर घटना त घटिरहेकै छन्।
मुटु दुख्यो।
ती सानी बच्चीले कसरी त्यत्रो पीडा सहन सकी होली? कति आतासिइन्? कति चिच्याइन् होला?
शरीरभरि काँडा उम्रियो।
साँच्चै, सुन्न कठिन यी समाचारहरू सहने सामर्थ्य छ हामीमा?
आफैँलाई प्रश्न गरेँ—हामीले आफ्ना सन्तानलाई के सिकायौँ?
हामीले उनीहरूलाई पढ्न सिकायौँ, अंक ल्याउन सिकायौँ, प्रतिस्पर्धा गर्न सिकायौँ, सफल हुन सिकायौँ। तर असफल हुँदा कसरी सम्हालिने, आफ्नो भावनालाई कसरी नियन्त्रण गर्ने, अरूको सीमाको सम्मान कसरी गर्ने, कसैले ‘नाइँ’ भन्यो भने त्यसलाई स्वीकार कसरी गर्ने—माया, ममता र करुणाका यी कुरा कति सिकायौँ?
हामीले छोरालाई ‘रोएर कमजोर नबन्नू’ भन्यौँ।
तर अब भन्नुपर्छ—
‘छोरा, छोरी समान हुन्। दुवै रुन सक्छौ। डराउन सक्छौ। आफ्नो भावना भन्न सक्छौ। समस्या परे आमाबुबासँग कुरा गर्न सक्छौ। तर आफ्नो पीडा अरूमाथि हिंसा गरेर निकाल्न पाउँदैनौ।’
दुवैजनालाई हामीले यी कुराहरू समान रूपमा सिकाउनै पर्छ। मानिस मानिस एउटै हो। मानिसका सबै भावना र पीडाहरू समान हुन्।
मनमा यावत् कुरा खेल्दै गर्दा छोरा स्कुल जान घरको गेटमा पुगिसकेको थियो। ऊ झोला बोकेर स्कुल हिँड्यो। अनेक सोचेर म त्यहीँ उभिइरहेँ।
मनमा अनेक प्रश्न थिए। आँखामा आँसु थियो। संसारप्रति डर थियो। तर छोराप्रति एउटा आशा र भरोसा पनि त थियो।
मनमनै भनेँ—
‘बाबु, तिमी हिंसक होइन, ज्ञानी मानिस बन्नू है।
तिमी बलियो बन्नू, तिमी निडर बन्नू, तर कहिल्यै हिंसक नबन्नू है।
कुनै छोरीलाई हेर्दा उसको शरीर होइन, उसको अस्तित्व देख्नू।
कुनै दिदीबहिनीलाई भेट्दा सम्बन्धको नामले मात्र होइन, आफैँजस्तै मानिसका रूपमा सम्मान गर्नू।
कसैले ‘नाइँ’ भन्यो भने त्यसलाई स्वीकार गर्नू।
कसैको कमजोरीलाई आफ्नो अवसर नबनाउनू।
र सबैभन्दा ठूलो कुरा—कसैको आँसुको कारण नबन्नू।
तिमीले आमाको सम्मान गर्छौ भने संसारका हरेक महिलाको सम्मान गर्न सिक्नू।
दिदी, बहिनी, आमा, फुपूहरूले तिम्रो उपस्थितिमा सुरक्षित महसुस गर्ने समाज बनाउन सहयोग गर्नू।’
खै किन हो, मनले यही भन्यो।
हामीले छोराछोरीलाई संसारको नम्बर एक बनाउन खोज्दा सबैभन्दा पहिले असल मानिस बनाउन नबिर्सौँ।
किनकि असल मानिस बन्न सके सफलता आफैँ प्राप्त हुन्छ।
चाहे छोरी हुन् या छोरा, आखिर हाम्रा सन्तान हुन्। कुनै एकको पीडा अर्कोको पीडाभन्दा कम कहाँ हुन सक्छ र?
जब मानिस सभ्य मानिस बन्छ, अर्कोको दुःख बुझ्ने र अरूको दुःखमा दुःखी हुने मानिस बन्छ, त्यसपछि कुनै बच्चीले यस्तो बर्बरता सहनुपर्ने छैन।
छोरी भएकै कारण मारिनुपर्ने छैन।
त्यसैले, मेरा छोरा— तिमी हिंसक होइन, ज्ञानी मानिस बन्नू है।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्