ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यवसायी उत्साहित- पर्यटक आगमनले रेकर्ड तोड्यो


एबीसी न्यूज
५ मंसिर २०८०, मंगलबार   १ : ५०   बजे

काठमाडौं, ५ मंसिर । गएको अक्टोबरमा एक महिनामा हालसम्मकै सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिए । पर्यटक संख्या बढेसँगै व्यवसायी हौसिएका छन् ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकानुसार अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल प्रवेश गरे । एक महिनामा नेपाल भित्रिएको पर्यटक संख्याले रेकर्ड तोडेको हो । यसअघि, सन् २०१९ अक्टोबरमा एक लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए ।

पर्यटन क्षेत्रमा हालको स्थिति उत्साहपूर्ण रहेको व्यवसायी बताउँछन् । २०२४ मा पर्यटक आगमन कोभिड–१९ अघिकै लयमा फर्कने व्यवसायीको प्रक्षेपण छ ।

यो स्थिति निरन्तर रहे र कुनै प्रकोप वा महामारी ननिम्तिए २०२४ मा पर्यटक आगमन लयमा फर्कने पर्यटन व्यवसायी वसन्त मिश्र बताउँछन् । पर्यटकीय व्यवसाय पनि पोहोरपरारभन्दा राम्रो रहेको उनको भनाइ छ ।

“बिजनेसका हिसाबले पोहोरपरारभन्दा ठिक छ । अक्टोबरमा पर्यटक आगमन धेरै राम्रो भयो, नोभेम्बर अलि कम छ,” मिश्र भन्छन्, “पर्यटक आगमनले भविष्य एकदमै राम्रो देखाएको छ ।”

सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । १० महिनामा सात लाख बढी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डको तथ्यांकानुसार जनवरीदेखि अक्टोबरसम्म सात लाख १९ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।

यो कोरोना महामारीपछि सबैभन्दा धेरै हो । २०२२ मा साढे ६ लाख पर्यटक नेपाल घुम्न आएका थिए ।

बोर्डको तथ्यांकानुसार जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३ पर्यटक नेपाल भित्रिएका छन् ।

यस्तै, मेमा ७७ हजार ७०३, जुनमा ७२ हजार २५०, जुलाईमा ५७ हजार ७२६ र अगस्टमा ६७ हजार १५३ पर्यटक भित्रिएको तथ्यांक छ ।

होटेल एसोसिएसन अफ नेपाल ९हान०का अध्यक्ष विनायक शाह होटेल ‘अकुपेन्सी’ कुल क्षमताको औसतमा ३० देखि ३५ प्रतिशत रहेको बताउँछन् । अक्टोबर र नोभेम्बरमा काठमाडौं, पोखरा र चितवनका केही ठूला होटेलमा अकुपेन्सी राम्रो रहेको र बुकिङ पनि सोहीअनुसार भएको उनले जानकारी दिए ।

उनका अनुसार गत वर्षको तुलनामा अकुपेन्सी उत्साहपूर्ण छ । तर, हाल नेपालमा ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने होटेल क्षमता छ ।

पर्यटक आगमन राम्रो देखिए पनि होटेल व्यवसाय एकतिहाइ मात्र सञ्चालनमा आएको उनी सुनाउँछन् । ‘‘जति पर्यटक आएका छन्, त्यसको तीन गुणालाई हामीले सर्भिस दिन सक्छौँ,” उनी भन्छन्, ‘‘बजारमा सप्लाई एन्ड डिमान्डको कुरा हुन्छ । हामीसँग ३५ लाख पर्यटक बस्न सक्ने होटेलको क्षमता छ, सरकारको लक्ष्य १० लाख छ । यो हाम्रो क्षमताको एकतिहाइ मात्र उपयोग भइरहेको छ ।”

पर्यटक आगमन तेब्बर वृद्धि भए पनि थेग्न सक्ने पूर्वाधार तयार रहेको उनी बताउँछन् ।

कोभिड–१९ अघि २०१९ मा करिब १२ लाख पर्यटक नेपाल भित्रिएका थिए । पर्यटक आगमन बढाउन ‘मार्केटिङ’मा विशेष जोड दिनुपर्ने व्यवसायी मिश्रको भनाइ छ ।

“राम्रोसँग मार्केटिङ गर्ने हो भने नेपालमा पर्यटन क्षेत्रको भविष्य धेरै नै राम्रो छ । दुईवटा एयरपोर्ट छ, त्यसलाई नियमित उडान गर्नुपर्‍यो,” उनले थपे ।

जस्तोसुकै परिस्थितिमा पनि पर्यटन क्षेत्र एकै लयमा लैजानुपर्ने चुनौती रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘‘भलै, हामीले जुन लयमा माथि लैजानुपर्ने हो, त्यसअनुरूप लैजान सकेका छैनौँ । अर्थतन्त्रका निम्ति पर्यटन क्षेत्र मेरुदण्ड नै हो ।”

पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन र प्रचारप्रसारका निम्ति सार्वजनिक–निजी साझेदारी पब्लिक–प्राइभेट पार्टनरसिप – पीपीपी मोडलमा काम गर्नुपर्ने उनको धारणा छ । दुवै क्षेत्रले हातेमालो गरेर काम गरे विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिने मिश्र बताउँछन् ।

“विशेष मार्केटिङमा जोड दिनुपर्छ, त्यसो नगरी केही पनि हुँदैन,” उनी औँल्याउँछन्, “मसँग माउन्ट एभरेस्ट छ, मसँग एकसिंगे गैडा छ भनी बसेमा पर्यटक आउँदैनन् । पर्यटक ल्याउन विश्वबजारमा मार्केटिङ गर्न जरुरत छ ।”

युरोपेली मुलुकमा ‘कनेक्टिभिटी’ बढाउन जोड दिनुपर्ने उनी बताउँछन् । “टर्किस एयरलाइन्सबाहेक हामीसँग युरोपमा कनेक्सन नै छैन,” उनी भन्छन्, ‘‘युरोपबाट नेपालमा उडान भर्ने पहल गर्नुपर्‍यो ।’’

नेपाल एयरलाइन्सले युरोप जोड्ने, सिंगापुर र मलेसियामा फ्लाइट बढाउने, छिमेकी राष्ट्र भारत र चीनसँग पनि कनेक्टिभिटी जोड्न सके पर्यटक आगमन बढ्ने व्यवसायीको भनाइ छ ।

सरकारले पर्यटनको महत्त्व बुझ्नुपर्ने र निजी क्षेत्र पनि परिपक्व हुनुपर्ने मिश्र बताउँछन् । “सरकारले पर्यटन क्षेत्रको महत्त्व गहिरो गरी बुझिदिनुपर्‍यो । निजी क्षेत्र पनि पहिलेको भन्दा परिपक्व हुनुपर्‍यो ।’’

नेपालमा सरकारले पर्यटन क्षेत्रमा कहिल्यै लगानी नगरेको र सहजकर्ताका रूपमा मात्र काम गर्दै आएको उनको गुनासो छ । “जहाँ सरकार र निजी क्षेत्रले मिलेर काम गरेका छन्, त्यस्ता देशमा पर्यटन क्षेत्रमा विकास भएको छ,’’ उनी भन्छन् ।

पोखरामा पदयात्री पर्यटकको संख्या बढ्दै गएको छ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल टान पोखराका अध्यक्ष धर्मराज पन्थी भन्छन्, ‘‘पदयात्रा क्षेत्रमा आउने पर्यटकको संख्या कोरोनापछि यो वर्ष बढ्दै गएको छ । काठमाडौं–पोखरा सडक पूर्वाधार विस्तारका काम सकिएपछि पोखरामा पर्यटक आगमन बढ्ने विश्वास छ ।”

विमानस्थलमा उडान अवतरमा नयाँ रेकर्ड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरणमा नयाँ रेकर्ड बनेको छ । दसैँयता औसतमा दैनिक १०० अन्तर्राष्ट्रिय उडान भइरहेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

प्रवक्ता झाका अनुसार आन्तरिकतर्फ औसतमा दैनिक २७५ देखि २८० उडान अवतरण हुन्छन् ।

रोजगारी वा अध्ययनका निम्ति विदेश गएका नेपाली दसैँ, तिहार, छठलगायत पर्व मनाउन फर्किएका र पर्यटकीय सिजनका कारण उडान संख्या बढेको प्रवक्ता झा बताउँछन् ।

यो वर्ष अन्तर्राष्ट्रिय र आन्तरिक गरी दुवैतर्फ उडान संख्याले रेकर्ड तोडेको छ । यसअघि, सिजनको समयमा अन्तर्राष्ट्रियतर्फ औसतमा दैनिक ८०र८५ र आन्तरिकतर्फ २३०र२४० उडान अवतरण हुने गरेको थियो । पछिल्लो समय हवाईमार्ग हुँदै यात्रा गर्नेको संख्या बढेको छ ।

प्रवक्ता झाका अनुसार पहिले २० सिटे क्षमताका विमान थिए । पछिल्लो समय ७२ सिटे विमानहरूले उडान भरिरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३१ वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । आन्तरिकतर्फ १२ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवाले उडान गर्दै आएका छन् ।

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि नियमित सञ्चालनमा ल्याउनुपर्ने व्यवसायीको माग छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group