काठमाडौं ८ माघ । नेकपा एमालेको अछामको ठूलो पङ्क्तिले भीम रावलको मातृभूमि जागरण अभियानलाई समर्थन गरेका छन्।
मंगलबार पत्रकार सम्मेलनमा वक्तव्य जारी गरी एक हजार ८६ जना स्थानीय नेता कार्यकर्ताले रावलको अभियानलाई समर्थन गरेका छन्।
जारी वक्तव्यमा अछामबाट प्रतिनिधित्व गर्ने एमालेको सुदूरपश्चिम प्रदेश कमिटी प्रदेश कमिटी तथा विभागीय सदस्य रहेका ७ जना, केन्द्रीय विभागका दुई जना, जिल्ला कमिटी सचिवालय सदस्य ५ जना भीम रावलका पक्षमा उभिएका छन्।
यस्तै प्रवास केन्द्रीय प्रतिनिधि परिषद् १ जना, जिल्ला कमिटी सदस्य १७ जना, पूर्वजिल्ला कमिटी सदस्य ३ जना, जिल्ला सल्लाहकार सदस्य १३ जना, नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२ जना छन्।
एमालेका ६३७ जना संगठित सदस्यसहित कूल एक हजार ८६ जनाले रावलको अभियानलाई समर्थन गरेको दाबी गरिएको छ। वक्तव्यमा तीमध्ये केहीको हस्ताक्षर छ। केहीलाई फोन सम्पर्क गरेर समर्थन लिएको भनिएको छ।
नेकपा एमाले साँफेबगर नगर कमिटीका अध्यक्ष धकेन्द्र कुँवरले हाल पार्टी परित्याग नगरेको तर रावलको अभियानलाई समर्थन गरेको बताएका छन्।
१० पुसमा एमालेले रावललाई एमालेले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि उनी उक्त अभियान घोषणा गरेर देशदौडाहमा छन्।
४ माघमा सुदूरपश्चिम पुगेका उनी अहिले गृहजिल्ला अछाम केन्द्रित छन्।
प्रतिक्रिया दिनुहोस्