काठमाडौं ५ चैत । बेलायत र फ्रान्सले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग शान्ति सम्झौता चाहेको प्रमाणित गर्न आग्रह गरेका छन् ।
रुसी राष्ट्रपति पुटिन र अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच हुन लागेको वार्ताअघि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युद्धविराम प्रस्तावमा सहमति जनाउने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको साहसको प्रशंसा गर्नुभयो । उहाँले रुसलाई पनि त्यसै गर्ने आँट गर्न चुनौती दिनुभएको छ ।
त्यस्तै बेलायतका विदेश सचिव डेभिड लामीले पुटिनले अब पूर्ण र विना सर्त युद्धविराममा सहमति जनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पुटिन शान्ति सम्झौताप्रति गम्भीर रहेको कुनै सङ्केत नदेखेको प्रतिक्रिया दिनुभएको बीबीसीले जनाएको छ ।
फोनमार्फत आज हुन लागेको ट्रम्प–पुटिन वार्ताको पूर्वसन्ध्यामा अमेरिकाले रुस–युक्रेनबीच उत्साहजनक अवस्था आइपुगेको र युक्रेनमा यसअघि शान्ति प्रयास यति नजिक नरहेको जनाएको छ ।
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकारसँग ट्रम्प शान्ति सम्झौता सुरक्षित गर्न प्रतिबद्ध रहेको देखिएको दाबी गर्नुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि आज रुसी समकक्षी पुटिनसँग कुरा गर्ने तयारी गर्नुभएको छ ।
अमेरिकी अधिकारीहरूले साउदी अरबमा भएको वार्तापछि युद्ध रोक्ने प्रस्ताव गरेको केही हप्ताभित्रै युक्रेन र रुसबीच युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गरिएको छ ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएको समयमा ट्रम्प र पुटिनबीच वार्ता हुन लागेको हो ।
अमेरिकाले प्रस्ताव गरेको ३० दिने युद्धविरामलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समर्थन गरे पनि रुसी राष्ट्रपति पुटिनले अझै अनुमोदन गर्नुभएको छैन । रुस र युक्रेनबीच तीन वर्षअघिदेखि शुरू भएको युद्ध अहिले पनि चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्