काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। कंगोका स्वास्थ्य अधिकारीहरू संक्रमण नियन्त्रणका लागि प्रयासरत रहे पनि संक्रमितको संख्या बढ्ने क्रम नरोकिएको डब्ल्यूएचओले जनाएको छ।
कंगोमा इबोला प्रकोप आधिकारिक रूपमा मे १५ मा घोषणा गरिएको थियो। तर संक्रमण त्यसको करिब तीन महिनाअघि नै फैलिन थालेको अध्ययनले देखाएको डब्ल्यूएचओले जनाएको छ। हालसम्म ४ हजार २९४ जनामा संक्रमण पुष्टि भएको र १ हजार ९६० जनाको मृत्यु भएको बताइएको छ।
डब्ल्यूएचओका अफ्रिका निर्देशक डा. मोहम्मद जनाबीले संक्रमणको स्रोत र फैलावटको अवस्थालाई निरन्तर पछ्याउन कठिन भइरहेको बताएका छन्।
एक अध्ययनले इबोला संक्रमण फेब्रुअरीदेखि नै फैलिन थालेको देखाएको उनको भनाइ छ। सुरुवाती चरणमा धेरै बिरामीलाई मलेरिया वा टाइफाइड भएको हुनसक्ने ठानिएकाले इबोला पहिचान तथा उपचारमा ढिलाइ भएको उनले बताए।
डब्ल्यूएचओका अनुसार स्वास्थ्यकर्मीहरू हालसम्म करिब ३० प्रतिशत बिरामीसम्म मात्र पुग्न सकेका छन्। बाँकी संक्रमितमध्ये धेरै घरमै उपचारविहीन अवस्थामा रहेको र उनीहरू गम्भीर जोखिममा रहेको जनाइएको छ।
संक्रमण नियन्त्रणमा अर्को चुनौती परम्परागत अन्त्येष्टि अभ्यास बनेको छ। केही क्षेत्रमा मृतकको शरीरलाई प्रत्यक्ष रूपमा छुने प्रचलन रहेकाले त्यसबाट भाइरस फैलिने जोखिम उच्च हुने स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
त्यस्तै, केही समुदायमा स्वास्थ्य अधिकारीप्रति रहेको अविश्वासले पनि संक्रमितको पहिचान, उपचार तथा सम्पर्कमा आएका व्यक्तिको निगरानीलाई कठिन बनाइरहेको डब्ल्यूएचओले जनाएको छ।
स्वास्थ्य अधिकारीहरूले संक्रमण नियन्त्रणका लागि संक्रमितको शीघ्र पहिचान, उपचार, सम्पर्कमा आएका व्यक्तिको निगरानी तथा सुरक्षित अन्त्येष्टिजस्ता उपायलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्