वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट ज्यान मार्ने धम्की आएपछि गत महिना टर्कीबाट बेलायत जाने क्रममा गोप्य रूपमा विमान परिवर्तन गरेको खुलासा भएको छ।
वासिङ्टन पोस्टका अनुसार जुलाई ८ मा टर्कीको अङ्काराबाट बेलायत प्रस्थान गर्ने क्रममा ट्रम्प एयर फोर्स वनबाट अलग भएर सी–३२ए नामक सानो विमानमा सवार भएका थिए। सुरक्षा जोखिमका कारण विमान परिवर्तन गरिएको बताइएको छ।
अमेरिकी एक अधिकारीका अनुसार ट्रम्प अङ्कारामा एयर फोर्स वनमा चढेपछि विमानभित्र खानपान सामग्री राख्ने कन्टेनरमा गएका थिए। त्यही माध्यमबाट उनलाई सानो सी–३२ए विमानसम्म पुर्याइएको थियो। त्यसपछि सो विमानले ट्रम्पलाई बेलायत पुर्याएको थियो।
ठूलो एयर फोर्स वनमा रहेका सञ्चारमाध्यमका प्रतिनिधि तथा केही अधिकारीलाई भने ट्रम्प सोही विमानमा रहेको विश्वास दिलाइएको थियो। विमानमा रहेका पत्रकारलाई झ्यालका पर्दा बन्द गर्नसमेत भनिएको थियो।
इरानी समूहबाट सुरक्षा खतरा
यसअघि अमेरिकी सञ्चारमाध्यमले इरानी समूहबाट हुन सक्ने सम्भावित आक्रमणको जोखिमका कारण ट्रम्पले टर्कीबाट बाहिरिँदा कतारले उपहार दिएको नयाँ बोइङ ७४७–८ विमान प्रयोग नगरेको जनाएका थिए।
नाटो शिखर सम्मेलनमा सहभागी हुन अङ्कारा पुगेका ट्रम्पले बेलायतस्थित अमेरिकी सेनाका सदस्यलाई नयाँ विमान देखाउने योजना भए पनि सुरक्षा कारणले विमान परिवर्तन गरिएको बताइएको छ।
यस घटनाले कतारले अमेरिकालाई उपहार दिएको नयाँ विमानको सुरक्षा क्षमतामाथि समेत प्रश्न उठाएको छ। उक्त विमानमा पुरानो एयर फोर्स वनमा जस्तै सबै सुरक्षा सुविधा, विशेषगरी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली, उपलब्ध नभएको दाबी गरिएको छ।
ह्वाइट हाउसको बचाउ
वासिङ्टन पोस्टको रिपोर्टबारे एएफपीले प्रश्न गरेपछि ह्वाइट हाउसले नयाँ एयर फोर्स वनको सुरक्षाको बचाउ गरेको छ।
ह्वाइट हाउसका सञ्चार निर्देशक स्टीभन चेउङले नयाँ विमान अत्याधुनिक रहेको र राष्ट्रपति तथा उनका कर्मचारीको सुरक्षाका लागि उच्चस्तरीय सुरक्षा प्रोटोकल लागू गरिएको बताएका छन्।
वासिङ्टन पोस्टले सार्वजनिक गरेको भिडियोमा ट्रम्प ठूलो एयर फोर्स वनमा सिँढी चढेको केही मिनेटपछि खानपान सामग्री बोक्ने ट्रक विमानबाट बाहिरिएको देखिन्छ। उक्त वाहनलाई सी–३२ए विमानतर्फ लगिएको थियो।
दुवै विमान बेलायतमा अवतरण गरेपछि ट्रम्प ठूलो विमानबाट ओर्लिएको भिडियोमा देखिन्छ। त्यसपछि उनी नयाँ रूपमा पुनःसंरचना गरिएको एयर फोर्स वनमा पुगेका थिए। तर ट्रम्पलाई सी–३२एबाट ठूलो विमानमा कसरी स्थानान्तरण गरिएको थियो भन्ने विषय भने स्पष्ट नभएको वासिङ्टन पोस्टले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्