काठमाडौं, असार १४ । नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीति फेरि एकपटक चर्चाको केन्द्रमा आएको छ। कांग्रेस नेता डा. मिनेन्द्र रिजालले पार्टीभित्र बढ्दो ध्रुवीकरण, नेतृत्वबीचको अविश्वास र १५औँ महाधिवेशनको तयारीलाई लिएर गम्भीर टिप्पणी गरेका छन्। उनले पार्टीमा आफूहरू केही हदसम्म “हराएको” अवस्थामै रहेको स्वीकार गर्दै कांग्रेसलाई पुनः एकताबद्ध बनाउने प्रयास सफल हुन नसकेको बताएका छन्।
एबीसी टेलिभिजनका प्रधानसम्पादक शुभ शंकर कंडेलसंग कार्यक्रम आउटलुकमा रिजालले विराटनगरमा आयोजित भेलाको उद्देश्य कुनै समानान्तर शक्ति केन्द्र निर्माण गर्नु नभई कांग्रेसभित्र एकताको सन्देश फैलाउनु रहेको स्पष्ट पारे। उनका अनुसार उक्त भेलालाई बाहिरबाट संस्थापनविरुद्धको गतिविधिका रूपमा व्याख्या गरिए पनि आफ्नो उद्देश्य पार्टीभित्र संवाद र सहकार्यको वातावरण सिर्जना गर्नु थियो।
रिजालले आफूले क्रियाशील सदस्यता नवीकरण गरिसकेको उल्लेख गर्दै पार्टीको वैधानिक प्रक्रियामा सहभागी रहने निर्णय लिएको बताए। उनले विशेष महाधिवेशनका पक्ष–विपक्षमा रहेका सबै नेताहरूलाई एउटै स्थानमा ल्याएर पार्टीलाई थप विभाजनबाट जोगाउनुपर्ने धारणा राखेका थिए।
उनका अनुसार शेखर कोइरालासँगको छलफलमा पनि एकताको सन्देश दिने कार्यक्रम हुनुपर्ने विषयमा सहमति बनेको थियो। तर त्यसलाई बाहिरबाट संस्थापनविरुद्धको अभियानका रूपमा बुझिएको उनको भनाइ छ। उनले आफूलाई कतिपयले “दुईवटा डुङ्गामा खुट्टा राखेको” आरोप लगाए पनि आफू विवेकका आधारमा पार्टीलाई जोड्ने भूमिकामा रहेको बताए।
रिजालले कांग्रेसभित्र विशेष महाधिवेशनपछि उत्पन्न विवाद, निर्वाचन आयोगबाट वैधानिकता प्राप्त गर्ने प्रक्रिया तथा त्यसपछिको उम्मेदवार छनोटसम्मका घटनाक्रमबारे पनि खुला रूपमा बोले। उनका अनुसार त्यतिबेला गगन थापा, शेखर कोइराला, शेरबहादुर देउवा, पूर्णबहादुर खड्का लगायत शीर्ष नेताबीच पटक–पटक संवाद भएको थियो।
उनले गगन थापाले चुनावमा सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा कतिपय स्थानमा अन्याय भएको महसुस भएको बताए। यद्यपि पार्टीको बृहत्तर हितलाई ध्यानमा राख्दै त्यसबेला धेरै नेताहरूले असन्तुष्टि दबाएर चुनावी प्रक्रियामा सहभागी भएको उनको भनाइ थियो।
विशेष महाधिवेशनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाबारे पनि रिजालले आफ्नो धारणा राखे। कानुनी रूपमा आफूहरूको तर्क कमजोर नभए पनि राजनीतिक रूपमा गगन थापाको नेतृत्वले वैधानिकता पाउने अनुमान आफूले पहिल्यै गरेको उनले बताए। अदालतको फैसला आएपछि त्यसलाई स्वीकार गर्दै अब सबै विवादको समाधान १५औँ महाधिवेशनमार्फत खोज्नुपर्ने निष्कर्षमा आफू पुगेको उनको भनाइ छ।
रिजालले अहिले कांग्रेसभित्र दुईवटा प्रवृत्ति देखिएको उल्लेख गरे। उनका अनुसार एउटा पक्ष पुराना नेताहरूलाई अब आवश्यक नभएको सन्देश दिँदै नयाँ पुस्तालाई मात्र अघि बढाउन चाहन्छ भने अर्को पक्ष आफूहरूको योगदानको सम्मान नभएको भन्दै अपमानित महसुस गरिरहेको छ। यी दुवै प्रवृत्तिले पार्टीलाई थप विभाजनतर्फ धकेल्ने खतरा रहेको उनले औँल्याए।
उनले १५औँ महाधिवेशनसम्म पुग्ने प्रक्रियालाई सबै पक्षले स्वीकार्ने गरी अगाडि बढाउनुपर्नेमा जोड दिए। पुरानो र नयाँ नेतृत्वबीच टकराव होइन, सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
रिजालले आफू व्यक्तिगत रूपमा कुनै पनि समूहबाट अलग हुने पक्षमा नरहेको स्पष्ट पार्दै कांग्रेसभित्रै बसेर लोकतान्त्रिक प्रक्रियामार्फत पार्टीलाई एकताबद्ध बनाउने प्रयास जारी राख्ने बताए। पार्टीभित्र निर्णय गर्ने अधिकार महाधिवेशनमार्फत कार्यकर्तामा निहित रहेको उल्लेख गर्दै उनले अन्तिम निर्णय पनि त्यही प्रक्रियाबाट आउनुपर्ने धारणा व्यक्त गरे।







प्रतिक्रिया दिनुहोस्