ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के अमेरिका सबैको समान स्वतन्त्रता भएको राष्ट्र हो वा निश्चित समुदायको ?


एबीसी न्यूज
२१ असार २०८३, आइतबार   ७ : ०४   बजे

५० वर्षको भयो अमेरिका, तर विभाजनको राजनीति जस्ताको त्यस्तै

५० वर्षको भयो अमेरिका, तर विभाजनको राजनीति जस्ताको त्यस्तै

४ जुलाई १७७६ मा बेलायतबाट स्वतन्त्रता घोषणा गरेको अमेरिकाले त्यस यताका २५० वर्षमा सानो समुद्री तटीय उपनिवेशहरूको समूहबाट विश्वकै शक्तिशाली राष्ट्रमध्ये एक बन्ने यात्रा तय गरेको छ । आज अमेरिका विश्व राजनीतिमा निर्णायक प्रभाव राख्ने महाशक्ति पनि हो ।

स्वतन्त्रताका बेला अमेरिकामा १३ वटा मूल उपनिवेश मात्र थिए, जसको क्षेत्रफल करिब ४ लाख ३० हजार वर्गमाइल (११ लाख वर्गकिलोमिटर) थियो । अहिले अमेरिकाको क्षेत्रफल बढेर करिब ३७ लाख वर्गमाइल पुगेको छ, अर्थात् यसको भौगोलिक आकार झन्डै आठ गुणा विस्तार भएको छ ।

जनसङ्ख्यामा पनि यस्तै उल्लेखनीय वृद्धि भएको छ । सन् १७९० मा गरिएको पहिलो अमेरिकी जनगणनाअनुसार त्यहाँ करिब ४० लाख मानिस बसोबास गर्थे, जसमा दास बनाइएका अफ्रिकीहरू पनि समावेश थिए । सन् २०२५ सम्म आइपुग्दा अमेरिकाको जनसङ्ख्या ३४ करोड ३० लाख पुगेको छ, जुन करिब ८,४७५ प्रतिशत वृद्धि हो ।

यति ठुलो परिवर्तनका बाबजुद पनि अमेरिकाको सांस्कृतिक र राजनीतिक जीवनमा स्वतन्त्रता घोषणाको समयदेखिका धेरै बहस र विभाजन आज पनि देख्न सकिन्छ ।

पछाडि फर्केर हेर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख राजनीतिक एजेन्डा (विशेष गरी आप्रवासन सीमित गर्ने र अमेरिकाको शक्ति तथा भूभाग विस्तार गर्ने) का जरा पनि अमेरिकी इतिहासको प्रारम्भिक चरणमै भेटिन्छन् ।

सुरुदेखि नै विभाजित थियो अमेरिका

अमेरिकाका संस्थापकहरूले नयाँ राष्ट्रप्रति ठुलो आशा राखेका थिए, तर त्यो राष्ट्र सफल हुन्छ भन्ने कुनै निश्चितता थिएन । दासप्रथा, संविधान, आर्थिक व्यवस्था र राजनीतिक प्रणालीका विषयमा तीव्र मतभेद थिए । ती विवादले समाजलाई सुरुदेखि नै विभाजित बनाएका थिए ।

सन् १८०३ मा फ्रान्सबाट लुइजियाना क्षेत्र खरिद गरेपछि अमेरिकाको भूभाग लगभग दोब्बर भयो, तर त्यसको केही वर्षपछि १८१२ मा बेलायतसँग फेरि युद्ध हुँदा अमेरिकाको अस्तित्व नै टिकिरहन्छ कि रहँदैन भन्ने प्रश्न उठेको थियो ।

बोस्टन कलेजकी अमेरिकी इतिहासकी प्राध्यापक हेदर कक्स रिचार्डसन भन्छिन्, ‘त्यतिबेला बाहिरबाट हेर्ने जोसुकैले पनि नयाँ राष्ट्रलाई देखेर यी त आफैँभित्र लडेर टुक्रिन्छन्, त्यसपछि फेरि कब्जा गर्न सजिलो हुन्छ भन्ने सोचेका थिए ।’

यद्यपि सुरुवाती वर्षहरूमा अमेरिकाको भविष्य अनिश्चित देखिए पनि पछि देशलाई विश्वशक्ति बनाउने आधारभूत शक्तिहरू त्यही समयदेखि निर्माण हुन थालेका थिए ।

अमेरिका कहिल्यै एउटै पहिचानको देश थिएन

साल्भे रेजिना विश्वविद्यालयको नेसनहुड ल्याबका निर्देशक कोलिन वुडार्डका अनुसार अमेरिका सुरुदेखि नै फरक–फरक ऐतिहासिक र सांस्कृतिक पहिचान भएका क्षेत्रहरूको मिश्रण थियो ।

उनले अमेरिकालाई विभिन्न सांस्कृतिक क्षेत्रहरूमा विभाजन गरेका छन्, जसको आधार प्रारम्भिक बसोबास गर्ने समुदायहरूको इतिहास हो ।

उत्तरी क्षेत्र, जसलाई उनले ‘यांकील्याण्ड’ नाम दिएका छन्, धार्मिक उत्पीडनबाट बच्न युरोपबाट आएका प्युरिटन समुदायले बसालेका थिए । पछि जर्मनी र स्क्यान्डिनेभियाबाट आएका आप्रवासीहरू पनि त्यहाँ बस्न थाले, जसका कारण त्यहाँ बहुलवाद र सामूहिक समाजको अवधारणा बलियो बन्यो ।

त्यसको विपरीत मध्य क्षेत्र, जसलाई वुडार्डले ‘ग्रेटर एपलाचिया’ भन्छन्, मुख्यतः स्कटल्यान्ड र आयरल्यान्डबाट आएका स्वतन्त्र सोच भएका मानिसहरूले बस्ती बसालेका थिए ।

उनीहरूको राजनीतिक सोच ब्रिटिश शासनको अनुभवबाट प्रभावित थियो । त्यसैले उनीहरू सरकारको शक्तिप्रति सधैँ सशङ्कित रहन्थे ।

वुडार्डका शब्दमा, ‘उनीहरूका लागि स्वतन्त्रता भनेको व्यक्तिको स्वतन्त्रतालाई फराकिलो बनाउनु हो । सरकारको शक्ति बढ्नु भनेको व्यक्तिको स्वतन्त्रता घट्नु हो । यो यांकीहरूको सोचभन्दा बिल्कुलै विपरीत दर्शन हो ।’

अर्कोतर्फ, अमेरिकाको दक्षिणी क्षेत्र (डीप साउथ) ठुला जमिनदार वर्गको प्रभावमा थियो । यीमध्ये धेरैजना क्यारिबियन क्षेत्रमा रहेका दास श्रममा आधारित खेती प्रणालीबाट अमेरिका छिरेका थिए । उनीहरूले माथिबाट तल नियन्त्रण हुने, सीमित व्यक्तिको हातमा शक्ति केन्द्रित रहने ‘अल्पतन्त्र (ओलिगार्की)’मा आधारित समाज निर्माण गरे ।

अमेरिकाको पहिचान विभिन्न देशबाट आएका आप्रवासी समुदायहरूको संस्कृति र विचारबाट बनेको भए पनि, स्वतन्त्रतापछिको पहिलो सय वर्ष भने यस भूमिमा शताब्दीयौँदेखि बसोबास गर्दै आएका आदिवासी समुदायहरूको संस्कृति र अस्तित्वलाई मेटाउने योजनाबद्ध प्रयासका रूपमा पनि चिनियो ।

देश पश्चिमतर्फ विस्तार हुँदै जाँदा केवल भूभाग विस्तारमा मात्र सीमित रहेन, यसले वैचारिक रूप पनि लियो । धेरै अमेरिकीले अमेरिका केवल प्रशान्त महासागरसम्म मात्र होइन, सम्पूर्ण पश्चिमी गोलार्द्धभर आफ्नो प्रभाव विस्तार गर्न नियतिले नै जिम्मेवारी सुम्पिएको राष्ट्र हो भन्ने विश्वास गर्न थाले । यस अवधारणालाई ‘म्यानिफेस्ट डेस्टिनी’ भनियो ।

विस्तारसँगै बढेको सांस्कृतिक टकराव

पश्चिमतर्फको विस्तारले अमेरिकाभित्र रहेका विभिन्न सांस्कृतिक समूहलाई एकअर्कासँग नजिक पनि ल्यायो र उनीहरूबीच द्वन्द्व पनि बढायो ।

देशको भित्री पश्चिमी भूभाग कठिन भूगोल र दुर्गम वातावरणका कारण एपलाचियन क्षेत्रसँग धेरै मिल्दोजुल्दो थियो । त्यहाँ बसोबास गर्न पुगेका मानिसहरू पनि आत्मनिर्भरता र व्यक्तिगत स्वतन्त्रतालाई प्राथमिकता दिने स्वभावका थिए ।

तर प्रशान्त तटीय क्षेत्रमा पुग्दा उनीहरूको सोच अमेरिकाको उत्तरपूर्वबाट आएका व्यापारी, समुद्री व्यवसायी र उद्योगी वर्गसँग ठोक्किन थाल्यो । यसले एउटै राष्ट्रभित्र फरक–फरक आर्थिक र राजनीतिक दृष्टिकोणलाई अझ स्पष्ट आकार दियो । आज पनि त्यही विभाजन अमेरिकी राजनीतिमा देखिन्छ । अथात् अमेरिकाको प्रारम्भिक इतिहासमा देखिएका यी सांस्कृतिक र राजनीतिक विभाजन आज पनि कायम छन् ।

यसको सबैभन्दा स्पष्ट उदाहरण राष्ट्रपति निर्वाचनको नतिजा देखाउने नक्सामा देख्न सकिन्छ, जहाँ रिपब्लिकन पार्टीका ‘राता राज्य’ र डेमोक्रेटिक पार्टीका ‘निला राज्य’ बिच स्पष्ट विभाजन देखिन्छ ।

अमेरिकाको उत्तरपूर्वी क्षेत्र र पश्चिमी तटलाई उदारवादी (लिबरल) विचारधाराको गढ मानिन्छ । यी क्षेत्रका मतदाताले सरकारको सक्रिय भूमिका, सार्वजनिक सेवा र सामाजिक सुरक्षालाई बढी समर्थन गर्छन् ।

यसको विपरीत, टेक्सासदेखि फ्लोरिडासम्म फैलिएको दक्षिणी अमेरिका तथा देशको भित्री पश्चिमी क्षेत्र रिपब्लिकन दलको रुढीवादी राजनीतिक आधार बनेका छन् । यी क्षेत्रका धेरै नागरिक सीमित सरकार, व्यक्तिगत स्वतन्त्रता र परम्परागत मूल्यहरूलाई प्राथमिकता दिन्छन् ।

यसरी, अमेरिकाको आजको राजनीतिक ध्रुवीकरण कुनै नयाँ घटना होइन । यसको जरा देशको स्थापना कालमै रहेको क्षेत्रीय, सांस्कृतिक र ऐतिहासिक विभाजनमा गहिरोसँग गाँसिएको छ ।

आप्रवासनले बदल्यो अमेरिकाको स्वरूप

अमेरिकाले १९औँ शताब्दीको अन्त्यसम्म आइपुग्दा आफ्नो भौगोलिक विस्तार लगभग रोक्यो, तर त्यसपछि पनि देशको जनसङ्ख्या तीव्र गतिमा बढिरह्यो, जसको प्रमुख कारण थियो आप्रवासन । अमेरिकी इतिहासविद् हेदर कक्स रिचार्डसनका अनुसार आप्रवासन अमेरिकाको पहिचानकै केन्द्रमा रहेको विषय हो । उनी भन्छिन्, ‘संयुक्त राज्य अमेरिकाको मूल आधारमध्ये एक आप्रवासन हो । हामी सबैलाई जोड्ने कुरा भनेको हामीले आफूले चाहेको भविष्य निर्माण गर्न सक्छौँ भन्ने विश्वास हो ।’

आप्रवासनका तीन ठुला लहर

अमेरिकामा ठुलो सङ्ख्यामा आप्रवासी आउने पहिलो लहर १८४० को दशकदेखि १८८९ सम्म चल्यो । यस अवधिमा मुख्यतः उत्तरी र पश्चिमी युरोपबाट करिब १ करोड ४० लाख मानिस अमेरिका पुगे ।

त्यसपछि १८९० देखि १९२० को दशकसम्म दोस्रो ठुलो लहर आयो । यस समयमा दक्षिणी र पूर्वी युरोपबाट १ करोड ८० लाखभन्दा बढी मानिस अमेरिकामा बसाइ सरे ।

तर प्रत्येक आप्रवासन लहरसँगै विरोध पनि बढ्यो । धेरै अमेरिकीले नयाँ आप्रवासीले आफ्नो रोजगारी खोस्ने, मजदुरी घटाउने र परम्परागत जीवनशैलीमा खतरा उत्पन्न गर्ने डर व्यक्त गरे ।

त्यसपछि सरकारले आप्रवासन नियन्त्रण गर्न विभिन्न कानुन ल्यायो । तीमध्ये ‘चाइनिज एक्सक्लुजन एक्ट’ जस्ता कानुनले चिनियाँ आप्रवासीहरूको प्रवेशमा कडा प्रतिबन्ध लगाए । पछि लागु गरिएको सन् १९२४ को आप्रवासन ऐनले अमेरिका आउने आप्रवासीहरूको सङ्ख्या निकै घटाइदियो । यसको प्रभाव अमेरिकी जनसङ्ख्या वृद्धिको तथ्याङ्कमै स्पष्ट रूपमा देखिन्छ ।

१९६० पछि फेरि खुल्यो अमेरिकाको ढोका

सन् १९६० को दशकमा ती प्रतिबन्ध हटाइएपछि अमेरिकामा आप्रवासनको तेस्रो ठुलो लहर सुरु भयो । त्यसयता ७ करोडभन्दा बढी आप्रवासी अमेरिका पुगेका छन् । तीमध्ये धेरै एसिया र ल्याटिन अमेरिकाबाट आएका हुन् । केवल मेक्सिकोबाट मात्रै करिब १ करोड ८० लाख मानिस अमेरिकामा बसाइ सरेका छन् ।

d9cd68b0-7707-11f1-b976-0b9c15b0ccfc.jpg

माइग्रेसन पोलिसी इन्स्टिच्युटका अनुसार सन् २०२४ मा अमेरिकाको कुल जनसङ्ख्याको १४.८ प्रतिशत विदेशमा जन्मिएका नागरिक थिए । यो अनुपात सन् १८९० यताकै सबैभन्दा उच्च स्तर हो । त्यस वर्ष अमेरिकाको कुल जनसङ्ख्या वृद्धिमध्ये ८४ प्रतिशत वृद्धि आप्रवासनकै कारण भएको थियो ।

आप्रवासनले बदल्यो राजनीतिक शक्ति सन्तुलन

विश्लेषक कोलिन वुडार्डका अनुसार प्रारम्भिक आप्रवासनका लहरहरूले अमेरिकाको उत्तरी क्षेत्रको आर्थिक र राजनीतिक शक्ति बलियो बनाउन ठुलो भूमिका खेले । यसले उत्तर र दक्षिणबिचको वैचारिक तथा राजनीतिक दुरी अझ बढायो ।

दक्षिणी राज्यका नेताहरूले आफ्नो राजनीतिक प्रभाव कायम राख्न नयाँ भूभाग प्राप्त गर्ने र त्यहाँ दासप्रथालाई मान्यता दिने नयाँ राज्यहरू स्थापना गर्ने नीति अघि सारे । यही विवाद अन्ततः अमेरिका विभाजनको अवस्थामा पुग्यो र गृहयुद्ध सुरु भयो ।

तर पछिल्ला दशकहरूमा यो भौगोलिक प्रवृत्ति उल्टिएको छ । आजकल धेरै आप्रवासी तथा उत्तरका राज्यबाट बसाइ सर्ने अमेरिकीहरू दक्षिणी राज्यहरू, विशेषगरी टेक्सास र फ्लोरिडाजस्ता तीव्र आर्थिक वृद्धि भएका राज्यहरूमा बस्न थालेका छन् ।

यहीबिच अमेरिकाको दक्षिणी सीमाबाट हुने अवैध आप्रवासन पनि तीव्र रूपमा बढेपछि राष्ट्रिय राजनीतिमा नयाँ तनाव सिर्जना भएको छ । यही परिवर्तनले डोनाल्ड ट्रम्पको लोकप्रिय राष्ट्रवादी राजनीतिलाई बलियो आधार दिएको हो ।

ट्रम्पको नयाँ विस्तारवादी दृष्टिकोण

आज देखिएको डोनाल्ड ट्रम्पको राष्ट्रवादी राजनीति अमेरिकाको बदलिँदो जनसाङ्ख्यिक र राजनीतिक सन्तुलनप्रतिको प्रतिक्रिया हो । ह्वाइट हाउसमा दोस्रोपटक फर्किएपछि ट्रम्पले आफ्नो चुनावी बाचा अनुसार ठुलो स्तरमा अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने अभियान अघि बढाएका छन् ।

यससँगै उनले १९औँ शताब्दीको अमेरिकी विस्तारवादप्रति आकर्षण पनि खुलेर व्यक्त गरेका छन् । उनले ग्रीनल्यान्डलाई अमेरिकामा गाभ्ने, पनामा नहर पुनः अमेरिकी नियन्त्रणमा ल्याउने र क्यानडा तथा भेनेजुएलालाई अमेरिकाको ‘५१औँ राज्य’ बनाउने जस्ता विवादास्पद अभिव्यक्ति दिएका छन् । ट्रम्पको विस्तारवाद विगत २५० वर्षको अमेरिकी इतिहासको ठिक उल्टो दिशामा गएको देखिन्छ ।

अमेरिकाले आफ्नो पहिलो सय वर्ष भौगोलिक विस्तारमा बितायो । त्यसपछि नयाँ भूभाग प्राप्त गर्ने प्रयास लगभग रोक्यो र आप्रवासीहरूलाई स्वागत गर्दै आर्थिक तथा सामाजिक विकासमा ध्यान केन्द्रित गर्‍यो ।

तर अहिले ट्रम्पले फेरि अमेरिकाको भौतिक सीमा विस्तार गर्ने र देशमा आउने आप्रवासीहरूको सङ्ख्या घटाउने नीति अघि सारेका छन् ।

‘अमेरिकाको चरित्र परिवर्तन हुँदैछ’

ट्रम्प र उनका समर्थकहरूको तर्क छ कि अत्यधिक आप्रवासनले अमेरिकाको मौलिक चरित्र स्थायी रूपमा परिवर्तन गरिरहेको छ । ट्रम्पले बारम्बार भन्ने गरेका छन्, ‘यदि यस्तो आप्रवासन जारी रह्यो भने हामीसँग अब देश नै रहनेछैन ।’

141b4050-7708-11f1-a627-714adb4eed6e.jpg

विश्लेषक कोलिन वुडार्डका अनुसार यस्तो धारणा अचानक उत्पन्न भएको होइन । यसको जरा अमेरिकी इतिहासको सुरुदेखि नै रहेको एउटा मूलभूत बहसमा छ । उनले भने, ‘अमेरिकी इतिहासको सबैभन्दा ठुलो सङ्घर्ष यही हो कि के अमेरिका एउटा यस्तो नागरिक राष्ट्र हो जहाँ प्रत्येक व्यक्तिलाई समान र दिगो स्वतन्त्रता प्राप्त हुन्छ ? वा यो रगत, वंश र मूलका आधारमा आफूलाई साँचो अमेरिकी मान्ने निश्चित समुदायको मात्र देश हो ?’

२५० वर्षमा परिवर्तन र निरन्तरता दुवै

विश्व इतिहासको विशाल कालखण्डसँग तुलना गर्दा २५० वर्ष धेरै लामो समय होइन, तर अमेरिकाका लागि यी २५० वर्ष अत्यन्तै परिवर्तनकारी साबित भएका छन् ।

यस अवधिमा अमेरिका साना उपनिवेशहरूको समूहबाट विश्वकै शक्तिशाली राष्ट्रमध्ये एक बन्यो । यसको भूभाग, जनसङ्ख्या, अर्थतन्त्र र अन्तर्राष्ट्रिय प्रभाव असाधारण रूपमा विस्तार भयो, तर एउटा कुरा भने परिवर्तन भएको छैन । अमेरिकाको पहिचान, शक्ति, आप्रवासन र भविष्यलाई लिएर हुने बहस ।

देश स्थापना हुँदा जस्तै आज पनि अमेरिकी समाजमा यी विषयहरू गहिरो राजनीतिक विभाजनका केन्द्र बनेका छन् । ट्रम्पको उदय र उनका नीतिहरूले ती पुराना बहसहरूलाई फेरि एकपटक राष्ट्रिय राजनीतिको केन्द्रमा ल्याइदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘भदौ २४ पछि हामी मारिने अवस्थामै थियौँ, विश्वको भूराजनीतिले बचायो’ : प्रचण्ड

‘लाइफभन्दा लाइकको चिन्तामा सरकार’ : गगन थापा

सम्बन्धित

अमेरिकी स्वतन्त्रता घोषणापत्रको २५०औँ वर्षगाँठ: विचार, समानता र लोकतन्त्रको अधुरो यात्रा

‘भदौ २४ पछि हामी मारिने अवस्थामै थियौँ, विश्वको भूराजनीतिले बचायो’ : प्रचण्ड

‘लाइफभन्दा लाइकको चिन्तामा सरकार’ : गगन थापा

पहिलोपटक विदेशी प्रतिनिधिसँग एक्लाएक्लै भेट्दै प्रधानमन्त्री बालेन

दीपक भट्टलाई नख्खु, प्रदीप अधिकारीलाई सुन्धारा कारागार सारियो

भदौ २३–२४ घटनाका मुद्दा : अदालतलाई सुनुवाइ अघि नबढाउन महान्यायाधिवक्तामार्फत निर्देशन, न्यायिक स्वतन्त्रतामाथि प्रश्न !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu