इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई बिहीबार राति रावलपिंडीस्थित अदियाला जेलबाट उपचारका लागि इस्लामाबादको सिफा अन्तर्राष्ट्रिय अस्पताल लगिएको छ।
सर्वोच्च अदालतको आदेशपछि उनलाई जेलबाट अस्पताल पुर्याइएको हो। अदालतले मंगलबार इमरान खानलाई दुई दिनभित्र अस्पताल लगेर स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारको व्यवस्था गर्न निर्देशन दिएको थियो। अदालतको आदेशअनुसार उनलाई सेप्टेम्बर १६ सम्म अस्पतालमै राखेर उपचार गरिने बताइएको छ।
इमरान खान अस्पताल पुगेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो। अस्पताल परिसरका बत्ती निभाइएको, कर्मचारीहरूको मोबाइल फोन नियन्त्रणमा लिइएको तथा गेटबाहिर रहेका पत्रकारहरूलाई हटाइएको जनाइएको छ।
स्वास्थ्य अवस्थाबारे परिवारको चिन्ता
इमरान खानको स्वास्थ्य अवस्थालाई लिएर उनका परिवारका सदस्य र कानुनी टोलीले लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएका थिए। उनीहरूले उचित स्वास्थ्य परीक्षण र उपचारका लागि उनलाई निजी अस्पतालमा लैजान माग गर्दै आएका थिए।
सर्वोच्च अदालतले स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूको सुझावअनुसार आवश्यक थप उपचार गर्नसमेत अनुमति दिएको छ।
अदालतको आदेशपछि इमरान खानलाई जेलबाट अस्पताल सारिएको घटनालाई उनको स्वास्थ्य अवस्था र हिरासत व्यवस्थापनसँग जोडेर चासोका साथ हेरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्