लिमा । पेरुको दक्षिणी एन्डिज क्षेत्रमा बिहीबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण कम्तीमा दुई जना घाइते भएका छन् भने दर्जनौँ घर, स्वास्थ्य संस्था र एउटा विद्यालयमा क्षति पुगेको अधिकारीहरूले बताएका छन्।
अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार दिउँसो करिब १ बजे गएको भूकम्पको केन्द्रबिन्दु अयाकुचो क्षेत्रको परिनाकोचास प्रान्तस्थित उपाहुआचो सहरबाट करिब ३८ किलोमिटर उत्तरपश्चिममा रहेको थियो। भूकम्पको गहिराइ ६६ किलोमिटर मापन गरिएको छ।
भूकम्पको धक्का राजधानी लिमा लगायत इका, अरेक्विपा, हुआन्काभेलिका, अपुरिम्याक र कुस्को क्षेत्रमा समेत महसुस गरिएको थियो।
भागदौडमा दुई जना घाइते
नागरिक रक्षा प्रमुख लुइस भास्केजका अनुसार परिनाकोचास प्रान्तको राजधानी कोराकोरामा भूकम्पपछि घरबाट बाहिर निस्कने क्रममा दुई जना घाइते भएका हुन्।
अधिकारीहरूले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार अयाकुचो र कुस्को क्षेत्रका विभिन्न स्थानमा २२ वटा घरमा क्षति पुगेको छ। साथै छ वटा स्वास्थ्य केन्द्र र एउटा विद्यालय पनि प्रभावित भएका छन्।
पुक्वियो, पुलो, कोराकोरा, उपाहुआचो, सान पेड्रो र पिचारीलगायतका क्षेत्रमा भूकम्पको प्रभाव देखिएको जनाइएको छ।
भूकम्पपछि प्रभावित क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन्। अधिकारीहरूले क्षतिको थप विवरण संकलन गरिरहेका छन् भने आवश्यक परे राहत तथा उद्धारका लागि तयारी गरिएको जनाइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्