ढाका । बंगलादेशको संसद्ले बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरलाई देशको नयाँ राष्ट्रपति चयन गरेको छ। उनी बंगलादेशका २३औँ राष्ट्रपति बनेका छन्।
बिहीबार संसद् भवनमा भएको राष्ट्रपति निर्वाचनमा आलमगिरले २५५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी विपक्षी गठबन्धनका उम्मेदवार कर्नेल (सेवानिवृत्त) ओली अहमदले ८८ मत प्राप्त गरे।
राष्ट्रपति निर्वाचनका लागि दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो। निर्वाचनमा कुल ३४९ जना सांसदले मतदान गरेका थिए।
शेख हसिनाका प्रमुख राजनीतिक प्रतिद्वन्द्वी
नवनिर्वाचित राष्ट्रपति आलमगिर बंगलादेशको राजनीतिमा लामो समयदेखि प्रभावशाली व्यक्तित्वका रूपमा परिचित छन्। उनी पूर्वप्रधानमन्त्री शेख हसिनाका प्रमुख राजनीतिक प्रतिद्वन्द्वीमध्ये एक मानिन्छन्।
बीएनपीको कठिन राजनीतिक समयमा पार्टी नेतृत्व सम्हालेका आलमगिर विभिन्न आन्दोलनका क्रममा पटक–पटक पक्राउसमेत परेका थिए।
सन् २०२४ को विद्यार्थी आन्दोलनपछि शेख हसिना सत्ताबाट बाहिरिएकी थिइन् र हाल भारतमा रहेको बताइन्छ। बंगलादेशले उनको फिर्ताका लागि भारतसँग आग्रह गर्दै आएको छ।
बंगलादेशमा राष्ट्रपतिको पद मुख्यतः संवैधानिक र औपचारिक प्रकृतिको मानिन्छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्