काठमाडौं — एक समय गाउँघरमा ‘गरिबको खाना’ भनेर चिनिने कोदो अहिले ‘सुपर फुड’ र ‘भविष्यको खाद्य सुरक्षा’ का रूपमा पुनः चर्चामा आएको छ। जलवायु परिवर्तनका कारण कृषिक्षेत्रमा बढ्दो चुनौती, खाद्यान्न आयातमा बढ्दो निर्भरता र पोषण संकटबीच नेपालले आफ्नो पुरानो रैथाने बालीलाई पुनर्जीवित गर्ने अभियान थालेको हो।
दोस्रो राष्ट्रिय कोदो दिवसका अवसरमा सरकार, किसान र कृषिक्षेत्रका सरोकारवालाले कोदोको संरक्षण, उत्पादन वृद्धि र बजारीकरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। ‘कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा संवर्धन’ भन्ने मूल नारासहित शनिबार मनाइएको दिवसमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोदो नेपालको ऐतिहासिक, सांस्कृतिक तथा खाद्य प्रणालीसँग गाँसिएको महत्त्वपूर्ण बाली भएको बताइन्।
पहाडी जीवनसँग गाँसिएको बाली
केही दशकअघिसम्म पहाडी गाउँघरका भान्सामा कोदोको ढिँडो, रोटी र खोले नियमित परिकार थिए। खेतबारीका गरा र पाटामा लहलहाउने कोदो किसानको जीवनशैलीसँग प्रत्यक्ष जोडिएको थियो। तर आधुनिक खानपान, वैदेशिक रोजगारी र बदलिँदो कृषि प्रणालीका कारण गाउँका खेत बाँझिँदै गए र कोदो पनि बिस्तारै मानिसको थालबाट हराउन थाल्यो।
चौँरीदेउराली गाउँपालिकाका चित्रप्रसाद चौलागाईंका अनुसार पछिल्ला वर्षहरूमा खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेसँगै कोदो उत्पादनमा समेत गिरावट आएको हो। तर अहिले स्वास्थ्यप्रति बढ्दो चासो र रैथाने बालीप्रतिको आकर्षणले कोदो पुनः चर्चामा आउन थालेको उनले बताए। त्यही मर्मलाई आत्मसात् गर्दै चौँरीदेउराली गाउँपालिकाले यो वर्ष कोदो दिवस मनाएको हो।
कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीका अनुसार जलवायु परिवर्तन, बढ्दो खाद्य आयात र कुपोषणको चुनौतीबीच कोदोको महत्त्व झन् बढेको छ। ‘एक समय उपेक्षित बनेको कोदो अहिले पोषणयुक्त अन्न र भविष्यको खाद्य सुरक्षाको आधारका रूपमा स्थापित हुँदै गएको छ,’ उनले भने।
काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर र गोरखाका पहाडी क्षेत्रमा अहिले पनि धेरै किसानले कोदो खेतीलाई निरन्तरता दिएका छन्।
कम लगानी, बढी फाइदा
कृषि अभियन्ता हृदयराज गौतमका अनुसार वर्षायाममा रोप्ने र शरद ऋतुमा भित्र्याउने यो बालीले कम पानी, कम मल र न्यून लगानीमै उत्पादन दिन्छ। ‘धानले पानी खोज्छ, मकैले मल खोज्छ तर कोदोले धेरै दुःख दिँदैन। उत्पादन पनि हुन्छ र घरको खानपान पनि चल्छ,’ उनले भने।
कृषि तथा पोषणविज्ञ कृष्ण धितालका अनुसार कोदोमा क्याल्सियम, आइरन, प्रोटिन र रेसा प्रशस्त मात्रामा पाइन्छ। चामल र गहुँको तुलनामा बढी पोषक तत्व भएकाले बालबालिका, गर्भवती महिला र ज्येष्ठ नागरिकका लागि समेत उपयोगी मानिन्छ। नेपालमा अझै कुपोषण चुनौतीका रूपमा रहेकाले कोदोको उत्पादन र उपभोग बढाउन सके स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पर्न सक्ने धितालले बताए।
पछिल्लो समय कोदोको पोषण र औषधीय गुणबारे जनचेतना बढ्दै गएको आयुर्वेदिक चिकित्सक डा. मनोज चौधरीले उल्लेख गरे।
सहरमा बढ्दो माग
अहिले सहरका होटल, रेस्टुराँ र खाद्य उद्योगहरूले समेत कोदोलाई नयाँ रूपमा प्रस्तुत गर्न थालेका छन्। कोदोबाट केक, बिस्कुट, कुकिज, नुडल्सलगायत विभिन्न स्वास्थ्यवर्धक परिकार उत्पादन भइरहेका छन्।
व्यवसायी दिलीप श्रेष्ठका अनुसार केही वर्षअघिसम्म गाउँको परिकार मानिने कोदो अहिले स्वास्थ्यप्रेमी उपभोक्ताको रोजाइ बन्दै गएको छ। ‘नेपालको कोदो नपुगेर विदेशबाट मगाउनुपर्ने बाध्यता भएको छ,’ उनले भने। माग बढ्दै जाँदा उत्पादन भने सोही अनुपातमा बढ्न सकेको छैन।
खेतीयोग्य जमिन बाँझिने, युवाशक्ति बिदेसिने र किसानले उचित मूल्य नपाउने समस्याले कोदो खेती विस्तारमा चुनौती थपेको छ। तर पनि, कोदोको संरक्षण केवल एउटा बाली जोगाउने अभियान मात्र होइन—खाद्य सुरक्षा, पोषण, जैविक विविधता र ग्रामीण अर्थतन्त्र जोगाउने अभियान पनि हो।
कृषि तथा वन क्षेत्रका अध्येता किरण खरेलका अनुसार स्थानीय तहहरूले प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न थालेका छन् भने सरकारले पनि रैथाने बाली संरक्षणका नीति अघि सारेको छ। एक समय उपेक्षित बनेको कोदो आज फेरि सम्मानका साथ नेपाली समाजमा फर्किन खोजिरहेको छ। गाउँका बाँझा डिलमा हरियाली फर्काउने, परिवारको पोषण सुधार गर्ने र देशको खाद्य सुरक्षा बलियो बनाउने सम्भावना बोकेको कोदो अब किसानको खेतमा मात्र होइन, राष्ट्रिय बहसको केन्द्रमा पनि पुगेको खरेलले बताए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्