काठमाडौं । सर्वोच्च अदालतले ‘कामी’ शब्दको सट्टा ‘विश्वकर्मा’ लेख्न चाहने व्यक्तिलाई सरकारी कागजातमा सोही नाम प्रयोग गर्न पाउने संवैधानिक अधिकार सुनिश्चित गरेको छ। अदालतको फैसलासँगै अब नागरिकता, जनगणना, सरकारी अभिलेख, तथ्यांक तथा अन्य सरकारी कागजातमा इच्छाअनुसार ‘विश्वकर्मा’ लेखाउन सकिने भएको छ।
विश्वकर्मा एकता समाज नेपालका अध्यक्ष गोपाल विश्वकर्माले २०७७ सालमा दायर गरेको रिटमा ‘कामी’ शब्दले जातीय अपमान र विभेद झल्काउने भएकाले ‘विश्वकर्मा’ लेख्न पाउने व्यवस्था गर्न माग गरिएको थियो।
सरकारले ‘कामी’ र ‘विश्वकर्मा’ पर्यायवाची शब्द भएको तथा कानुनी प्रक्रियाबाट थर सच्याउन सकिने तर्क गर्दै रिट खारेज गर्न माग गरेको थियो। तर सर्वोच्च अदालतले उक्त तर्क अस्वीकार गर्दै व्यक्तिको स्वेच्छा र स्वपहिचानको अधिकारलाई प्राथमिकता दिएको हो।
न्यायाधीश हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठमा कुनै पनि व्यक्तिलाई राज्यले एकलौटी रूपमा ‘कामी’ भनेर सम्बोधन गर्न बाध्य पार्न नमिल्ने उल्लेख गरिएको छ। अदालतले यस्तो अभ्यासले व्यक्तिको स्वपहिचान र सम्मानपूर्वक बाँच्न पाउने अधिकारमा असर पर्ने ठहर गरेको छ।
सर्वोच्चले संविधानको धारा १६, १८, २४, ३५ र ४२ अन्तर्गतका मौलिक हक प्रभावित भएको निष्कर्ष निकाल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय तथ्यांक विभाग र राष्ट्रिय दलित आयोगका नाममा परमादेश जारी गरेको छ।
अदालतले विश्वकर्मा समुदायका सदस्यले चाहेमा नागरिकता, जनगणना, राष्ट्रिय तथ्यांक, सरकारी अभिलेख, प्रकाशन तथा अन्य सबै सरकारी कागजातमा ‘कामी’ को सट्टा ‘विश्वकर्मा’ लेख्न पाउने गरी आवश्यक प्रशासनिक र नीतिगत व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
साथै, ‘कामी’ शब्द नै प्रयोग गर्न चाहने व्यक्तिको अधिकार पनि यथावत् रहने अदालतले स्पष्ट पारेको छ। अर्थात् यो फैसला कुनै एक शब्द अनिवार्य गर्ने नभई व्यक्तिको स्वेच्छा र स्वपहिचानको अधिकार सुनिश्चित गर्ने उद्देश्यमा केन्द्रित रहेको उल्लेख गरिएको छ।
सर्वोच्चले समुदायको हकहितका लागि काम गर्ने संस्थाले पनि समुदायको अधिकार संरक्षणका विषयमा अदालतमा कानुनी उपचार माग गर्न सक्ने संवैधानिक व्यवस्था रहेको व्याख्या गर्दै भविष्यमा यस्ता पहिचानसम्बन्धी विवादमा समेत कानुनी बाटो खुला रहेको संकेत गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्