पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७, लेककुना मिलनटोलमा चितुवाजस्तो देखिने जंगली जनावरको आक्रमणबाट एक जना घाइते भएका छन्।
घाइते हुनेमा स्थानीय २९ वर्षीय विक्रम गुरुङ रहेका छन्। प्रहरीका अनुसार सोमबार बिहान करिब २ बजे गुरुङको घरमा पालेको कुकुरलाई जंगली जनावरले आक्रमण गरेको थियो। कुकुर कराएको आवाज सुनेर बाहिर निस्केका गुरुङमाथि पनि उक्त जनावरले आक्रमण गरेको प्रहरीले जनाएको छ।
आक्रमणबाट गुरुङको बायाँ हात र बायाँ आँखानजिक चोट लागेको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी धम्पुसबाट प्रहरी सहायक निरीक्षक बसन्त पौडेलको नेतृत्वमा तीन सदस्यीय टोली घटनास्थल पुगेको थियो।
घाइते गुरुङलाई उपचारका लागि फिस्टेल अस्पताल पठाइएकोमा उपचारपछि सोमबार मध्यान्ह डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। प्रहरीले आक्रमण गर्ने जनावरको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
Originally published on abcnews.com.np.














प्रतिक्रिया दिनुहोस्