हेटौँडा,। वाग्मती प्रदेशको सत्ता समीकरण फेरिने संकेतसँगै सरकार परिवर्तनको बहस तीव्र बनेको छ। सोमबार बसेको सर्वदलीय बैठकमा नेकपा (एमाले) र नेकपाले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।
प्रदेश सरकारको नेतृत्व बाँडफाँटसम्बन्धी केन्द्रीय सहमतिअनुसार वाग्मती प्रदेशको नेतृत्व अब एमालेले गर्ने तयारी छ। यही आधारमा नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेल र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले अल्पमतको सरकार लामो समय टिकाउनु उपयुक्त नहुने धारणा राख्दै नयाँ गठबन्धनलाई संवैधानिक रूपमा अघि बढ्न सहज वातावरण बनाउन आग्रह गरे।
जम्कट्टेलले वर्तमान सरकारको आयु लम्ब्याउनुको सट्टा नयाँ सरकार गठनका लागि मार्ग खुला गर्नुपर्ने बताए। उनका अनुसार सरकार गठन प्रक्रिया अनावश्यक रूपमा लम्बिँदा प्रदेशको कामकारबाही प्रभावित भइरहेको छ।
यता मुख्यमन्त्री बानियाँले भने विपक्षी गठबन्धनलाई स्पष्ट बहुमत प्रमाणित गर्न चुनौती दिएका छन्। उनले नयाँ गठबन्धनले बहुमत जुटाएर सरकार गठन गर्न वा वर्तमान सरकारलाई विश्वासको मत दिएर बजेट कार्यान्वयनको वातावरण बनाउन दुई विकल्प अघि सारे।
सर्वदलीय बैठकमा सहभागी अन्य दलहरूले पनि प्रदेशलाई छिट्टै राजनीतिक निकास दिनुपर्नेमा जोड दिएका छन्। राप्रपाले आफ्नो निर्णय चाँडै सार्वजनिक गर्ने जनाएको छ भने नेपाल मजदुर किसान पार्टीले सरकार गठनको समीकरणमा आफू संलग्न नरहेको स्पष्ट पारेको छ। हाम्रो नेपाली पार्टीले भने ठूला दलहरूबीचको राजनीतिक विवादले जनतामा निराशा बढ्न नदिन आग्रह गरेको छ।
१०४ सदस्यीय वाग्मती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। नेपाली कांग्रेससँग ३६, नेकपासँग २६ र एमालेसँग २५ सांसद छन्। एमाले र नेकपा मिल्दा पनि ५१ सांसद मात्र पुग्ने भएकाले १२ सांसद रहेको राप्रपाको भूमिका सरकार गठनमा निर्णायक बन्ने देखिएको छ। कांग्रेसले पनि राप्रपा, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीसँग समानान्तर छलफल अघि बढाएको छ।
Originally published on abcnews.com.np.














प्रतिक्रिया दिनुहोस्