मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१२, हात्तीगौँडाका ड्र्यागन फ्रुट किसान बुद्धिबहादुर बोम्जनले बेमौसममा पनि उत्पादन लिन बगैँचामा बत्ती जडान गर्नुभएको छ ।
सिन बहुद्देश्यीय कृषि फार्मका सञ्चालक बोम्जनले जाडोयाममा पर्याप्त तापक्रम नहुँदा ड्र्यागन फ्रुटमा फूल नफुल्ने समस्या समाधानका लागि कृत्रिम उज्यालोको प्रयोग सुरु गर्नुभएको हो । उहाँका अनुसार मङ्सिरसम्म उत्पादन हुने ड्र्यागन फ्रुट त्यसपछि करिब तीन महिना उत्पादनविहीन हुन्छ भने पुनः जेठदेखि उत्पादन सुरु हुन्छ । “अब बेमौसममा पनि ड्र्यागन फ्रुट उत्पादन गरेर बजारमा पु¥याउने लक्ष्यका साथ यो अभ्यास थालेका छौँ,” उहाँले भन्नुभयो । बोम्जनले बगैँचामा १२ वाटका करिब आठ सय वटा बत्ती जडान गर्ने योजना बनाएकोमा हालसम्म चार सय वटा जडान गरिसक्नुभएको छ । सामाजिक सञ्जालमार्फत विदेशमा अपनाइएको प्रविधिबाट प्रेरित भएर आफूले पनि यो अभ्यास सुरु गरेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार बत्ती जडानपछि करिब डेढ महिनामा माघको मध्यतिरदेखि उत्पादन सुरु हुने अपेक्षा गरिएको छ । मौसमी उत्पादनको तुलनामा उत्पादन केही कम भए पनि वर्षभरि आम्दानीको निरन्तरता रहने विश्वास उहाँको छ । कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जाडोयाममा पर्याप्त तापक्रम नपुग्दा ड्र्यागन फ्रुटमा फूल नफुल्ने भएकाले कृत्रिम प्रकाशको प्रयोगबाट फूल फुलाउन र उत्पादन लिन सकिने बताउनुभयो ।
बोम्जनले एक बिघा क्षेत्रफलमा ८५० वटा सिमेन्टका पोलमा ड्र्यागन फ्रुट खेती गर्दै आउनुभएको छ । गत असारमा हेटौँडामा आयोजित ड्र्यागन फ्रुट महोत्सवमा उहाँले सहभागी किसानमध्ये सबैभन्दा बढी करिब छ लाख रुपियाँ बराबरको ड्र्यागन फ्रुट बिक्री गर्नुभएको थियो ।
उहाँका अनुसार यस वर्षको पहिलो सिजनमै १२ लाख रुपियाँ आम्दानी भइसकेको छ । हाल वार्षिक करिब ३० लाख रुपियाँ आम्दानी हुँदै आएकोमा बेमौसमी उत्पादन सफल भए वार्षिक आम्दानी ५० लाख रुपियाँ पु¥याउने लक्ष्य रहेको उहाँले बताउनुभयो । बगैँचामा बत्ती जडानका लागि हेटौँडा उपमहानगरपालिकाले ७० प्रतिशत अर्थात् दुई लाख ७० हजार रुपियाँ अनुदान उपलब्ध गराएको छ भने बाँकी लागत फार्मले बेहोरेको छ ।
छ वर्षदेखि ड्र्यागन फ्रुट खेती गर्दै आउनुभएका बोम्जनले एभोकाडो, मेवा र मकैलगायतका बाली पनि खेती गर्दै आउनुभएको छ । उहाँका अनुसार सामान्य अवस्थामा फूल फुलेपछि ३०–३५ दिनमा फल टिप्न मिल्ने भए पनि कृत्रिम प्रकाशको प्रयोगबाट हुने बेमौसमी उत्पादनमा ४५–५० दिन लाग्ने अपेक्षा गरिएको छ ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्