काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको ‘करदाता उपहार प्रोत्साहन कार्यक्रम’ अन्तर्गत दैनिक १ लाख रुपैयाँ र बम्परमा १० लाख रुपैयाँ जित्न चाहने उपभोक्ताले क्यूआर कोडबाट भुक्तानी मात्रै गरेर नपुग्ने भएको छ। पुरस्कार दाबी गर्न खरिदको सक्कली बिल (बीजक) अनिवार्य हुने भन्दै आन्तरिक राजस्व विभागले स्पष्ट पारेको छ।
विभागले सार्वजनिक सूचना जारी गर्दै वस्तु तथा सेवा खरिद गर्दा डिजिटल माध्यमबाट रकम तिरे पनि उपहार कार्यक्रममा सहभागी हुन र विजेता बनेपछि पुरस्कार प्राप्त गर्न भ्याट वा प्यान आबद्ध सक्कली खरिद बिल अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाएको हो।
विभागले उपभोक्तालाई सामान वा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन आग्रह गरेको छ। साथै, व्यवसायीलाई पनि कर प्रणालीमा आबद्ध हुन र प्रत्येक बिक्रीमा अनिवार्य रूपमा बिल जारी गर्न निर्देशन दिएको छ। स्थायी लेखा नम्बर (प्यान) नलिई व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई तत्काल कर प्रणालीमा दर्ता हुन विभागले सचेत गराएको छ।
विभागका अनुसार यो कार्यक्रम व्यवसायमा पारदर्शिता बढाउने, करको दायरा विस्तार गर्ने र ‘बिल लिने संस्कृति’ विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। क्यूआरमार्फत गरिएको भुक्तानी प्रणालीमा स्वतः आबद्ध हुने भए पनि पुरस्कार दाबीका लागि विक्रेताले दिएको सक्कली बिल नै मुख्य प्रमाण हुने विभागको भनाइ छ।
११ लाख सहभागी, पहिलो पुरस्कार घोषणा हुँदै
चालु आर्थिक वर्षको साउन १ गतेदेखि सुरु भएको कार्यक्रममा हालसम्म ११ लाखभन्दा बढी उपभोक्ता सहभागी भइसकेका छन्।
कार्यक्रमअन्तर्गत सरकारले प्रत्येक दिन एक जनालाई १ लाख रुपैयाँ तथा प्रत्येक १५ दिनमा (महिनामा दुई पटक) एक जनालाई १० लाख रुपैयाँ बम्पर उपहार प्रदान गर्ने व्यवस्था गरेको छ।
साउन १ देखि १५ गतेसम्मका विजेताको घोषणा साउन १६ गते गर्ने तयारी भए पनि प्राविधिक तयारी पूरा नभएकाले केही ढिलाइ भएको विभागले जनाएको छ। अब पहिलो चरणमै १५ जना दैनिक विजेतालाई जनही १ लाख रुपैयाँ र एक जनालाई १० लाख रुपैयाँ प्रदान गर्ने तयारी भइरहेको छ।
कसरी सहभागी हुने ?
कार्यक्रममा सहभागी हुन कम्तीमा १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरेको हुनुपर्छ।
- मर्चेन्ट क्यूआर मार्फत भुक्तानी गरेमा ट्रान्जेक्सन आईडीका आधारमा विभागको प्रणालीले स्वतः लट्री टिकट नम्बर तयार गर्छ।
- नगद भुक्तानी गरेको अवस्थामा भने विभागको करदाता प्रोत्साहन पोर्टल मा गई बिल नम्बर, प्यान नम्बर, मिति र रकम प्रविष्ट गर्नुपर्ने हुन्छ।
यी बिल मान्य हुँदैनन्
विभागले केही स्पष्ट मापदण्ड पनि तोकेको छ।
- खरिद गरिएको पसल भ्याट वा प्यानमा दर्ता भएको हुनुपर्छ।
- व्यक्तिगत प्रयोजनका लागि सामान किन्ने प्राकृतिक व्यक्ति मात्र कार्यक्रममा सहभागी हुन पाउनेछन्।
- सरकारी तथा सार्वजनिक संस्थाका बिल, टेलिफोन, इन्टरनेट, विद्युत्, खानेपानी र हवाई टिकट का बिल भने कार्यक्रममा मान्य हुने छैनन्।
उपहार जितेपछि के गर्ने ?
विजेता छनोट भएपछि विभागले एसएमएस वा इमेलमार्फत सूचना दिनेछ। विजेताले १५ दिनभित्र नजिकको आन्तरिक राजस्व कार्यालयमा सक्कल बिल, नागरिकताको प्रतिलिपि, बैंक खाता विवरण र प्यान नम्बर सहित निवेदन दिनुपर्नेछ।
सबै प्रक्रिया पूरा भएपछि विभागले १० दिनभित्र रकम सिधै बैंक खातामा जम्मा गर्ने जनाएको छ। तर, तोकिएको समयभित्र पुरस्कार दाबी नगरेमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा जम्मा हुने व्यवस्था गरिएको छ।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्