काठमाडौं । मनसुनको प्रभाव सक्रिय रहँदा आज देशका विभिन्न भूभागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले विशेषगरी पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।
विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, तराई क्षेत्रनजिक रहेकाले वर्षा प्रणाली थप सक्रिय बनेको हो। यसका कारण वाग्मती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभाग, कोसी प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।
यस्तै, मधेस र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा तथा मधेस प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।
रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा वा हिमपात तथा तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागले भारी वर्षा हुन सक्ने क्षेत्रमा बाढी, पहिरो, डुबान तथा नदी–खोलामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, सडक तथा हवाई यातायातमा समेत आंशिक अवरोध आउन सक्ने सम्भावनालाई ध्यानमा राखी यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिएको छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्