विराटनगर । मोरङको विराटनगरस्थित प्रतिष्ठित उद्योगी प्रकाश मुन्दडाको निवासमा ‘५ सय किलो सुन, अर्बौं रुपैयाँ नगद र ठूलो परिमाणमा हतियार भण्डारण गरिएको’ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले सञ्चालन गरेको ठूलो अपरेशन अन्ततः निष्कर्षविहीन बनेको छ। करिब पाँच घण्टासम्म गरिएको सघन खानतलासीपछि प्रहरीले कुनै पनि अवैध सामग्री फेला पार्न नसकेपछि रित्तो हात फर्किएको हो।
घटनाले प्रहरी प्रशासनको सूचनाको विश्वसनीयता, अपरेशन सञ्चालनको प्रक्रिया तथा उद्योगी–व्यवसायीप्रति अपनाइएको व्यवहारबारे व्यापक बहस सिर्जना गरेको छ।
प्रधानमन्त्री कार्यालय हुँदै आएको सूचनापछि अपरेशन
सुरक्षा स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृहमन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयबाट एउटा लिखित सूचना प्राप्त भएको थियो। उक्त सूचनामा विराटनगर–७ पण्डित मेघराज मार्गस्थित ‘देबेनरा मुन्दडा’निवासमा सयौं किलो सुन, अर्बौं रुपैयाँ नगद र हतियार लुकाएर राखिएको उल्लेख थियो।
सूचनालाई गम्भीर रूपमा लिएपछि एसपी कटुवालले केही दिनअघि मात्रै कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका डीआईजी शेखर खनालसँग परामर्श गरेका थिए।
डीआईजी खनालले सूचना संवेदनशील भएकाले यथासम्भव गोप्य रूपमा तथ्य पुष्टि गर्न, अनावश्यक हल्ला नगर्न र पुष्टि भएपछि मात्रै आवश्यक कदम चाल्न निर्देशन दिएको सुरक्षा स्रोतको दाबी छ।
ठूलो प्रहरी बलसहित बिहानै घरमा छापा
तर प्राप्त सूचनाको प्रकृति अत्यन्त संवेदनशील भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सोमबार बिहानै एसपी कटुवालको नेतृत्वमा ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
प्रहरीले गोल्छा मोडदेखि जिल्ला प्रशासन कार्यालय जाने सडकखण्ड तथा जेजे ज्वेलर्स आसपासको क्षेत्रलाई करिब पाँच घण्टासम्म नियन्त्रणमा लिएको थियो। त्यसक्रममा ड्रोनसमेत प्रयोग गरिएको बताइएको छ।
बिहान करिब ५ बजे सुरु भएको खानतलासी पौने १० बजेसम्म जारी रह्यो।
घरको प्रत्येक कुनाकाप्चामा खोजी
प्रहरीले मुन्दडा परिवारको निवासका शयनकक्ष, भान्सा, बाथरुम, कार्यालय, गोदाम, दराज, घरेलु कामदार बस्ने स्थान, पसल तथा अन्य सबै सम्भावित स्थानमा विस्तृत खोजतलास गरेको थियो।
उद्योगीहरूको भनाइअनुसार प्रहरीले मसलाका बट्टादेखि पानीको ट्यांकीसम्म खोलेर जाँच गरेको थियो। तर सूचनामा उल्लेख गरिएअनुसार सुन, नगद वा हतियारमध्ये कुनै पनि सामग्री फेला परेन।
अन्ततः प्रहरीले कुनै आपत्तिजनक वस्तु बरामद नगरी मुन्दडा परिवारलाई कुनै कारबाही नगरी फर्किएको थियो।
एसपी कटुवालको भनाइ
जिल्ला प्रहरी प्रमुख एसपी कवित कटुवालले पनि प्राप्त सूचना र उजुरीका आधारमा कानुनी प्रक्रिया अनुसार खानतलासी गरिएको स्वीकार गरेका छन्।
उनले भने,
“उजुरी र सूचना आएपछि प्रहरीले कानुनअनुसार आफ्नो दायित्व पूरा गरेको हो।”
प्रतिष्ठित औद्योगिक घराना
प्रकाश मुन्दडा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष हुन्।
मुन्दडा परिवारले जेजे ज्वेलर्स, हिमगिरि सोप, बाबा रिफाइनरी, मारुती रिफाइनरी, हाइलाइफ चप्पल लगायतका उद्योग सञ्चालन गर्दै आएको छ। परिवारको हवाई सेवा, घरजग्गा तथा व्यापारिक क्षेत्रका विभिन्न व्यवसायमा पनि संलग्नता रहेको छ।
उद्योगीहरू आक्रोशित
छापापछि उद्योगी–व्यवसायीका विभिन्न संगठनले प्रहरीको शैलीप्रति आपत्ति जनाएका छन्।
उनीहरूको भनाइमा अपुष्ट सूचनाका आधारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी प्रतिष्ठित उद्योगीको घरमा आतंकवादीको अड्डाजस्तै व्यवहार गर्नु उचित नभएको उल्लेख गरिएको छ।
उद्योगीहरूले कानुन कार्यान्वयन आवश्यक भए पनि त्यस क्रममा नागरिकको प्रतिष्ठा, व्यावसायिक वातावरण र प्राकृतिक न्यायको सिद्धान्तलाई समेत सम्मान गर्नुपर्ने बताएका छन्।
डीआईजीको प्रतिबद्धता
घटनापछि कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले नेपाल उद्योग वाणिज्य महासंघ कोशी, नेपाल उद्योग परिसंघ कोशी, उद्योग संगठन मोरङ, मोरङ उद्योग व्यापार संघ तथा विराट व्यापार संघका प्रतिनिधिसँग छलफल गरेका थिए।
छलफलका क्रममा उनले मोबाइल नम्बरसमेत उल्लेख भएको लिखित उजुरी प्राप्त भएपछि प्रहरीले कानुनी दायित्व निर्वाह गर्न बाध्य भएको स्पष्ट पारे।
उनले भविष्यमा सूचना प्रमाणीकरणलाई अझ प्रभावकारी बनाउने, प्रक्रियागत कमजोरी सुधार्ने तथा यस्ता घटनाले व्यवसायीमा अनावश्यक त्रास सिर्जना नहुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
एसपीसँग स्पष्टीकरण
उद्योगीहरूको विरोध चर्किएपछि प्रदेश प्रहरी कार्यालय कोशीले मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालसँग २४ घण्टे स्पष्टीकरण मागेको स्रोतले जनाएको छ।
यसअघि पनि गलत सूचनामा प्रहरी परिचालन
मोरङ प्रहरी पछिल्ला केही महिनामा यस्तै प्रकृतिका अन्य घटनामा पनि आलोचित बनेको छ।
- असार ४ गते प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको सरकारी निवासमा फरार अपराधी लुकेको सूचनाका आधारमा राति छापा मारिएको थियो। तर त्यहाँ पनि केही फेला परेको थिएन।
- जेठ ५ गते सट्टेबाजीको आरोपमा नियन्त्रणमा लिइएका चार जनालाई प्रमाण नपुगेपछि २४ घण्टाभित्रै रिहा गरिएको थियो।
- असार १३ गते विराटनगर–मधुमारका अभिषेक गिरीको घरमा हतियार लुकाइएको सूचनाका आधारमा गरिएको खानतलासीमा पनि प्रहरीले कुनै हतियार बरामद गर्न सकेको थिएन।
प्रश्नको घेरामा प्रहरीको सूचना प्रणाली
लगातार अपुष्ट सूचनाका आधारमा सञ्चालन भएका अपरेशन असफल भएपछि प्रहरीको सूचना संकलन तथा प्रमाणीकरण प्रणालीमाथि प्रश्न उठ्न थालेको छ। सुरक्षा विश्लेषकहरूका अनुसार संवेदनशील सूचनामाथि प्रारम्भिक पुष्टि नगरी ठूलो स्तरको अपरेशन गर्दा प्रहरीको विश्वसनीयतामै असर पर्न सक्छ।
यद्यपि प्रहरीले भने प्राप्त सूचना र उजुरीलाई बेवास्ता गर्न नसकिने भन्दै कानुनी जिम्मेवारीअनुसार नै कारबाही गरिएको अडान दोहोर्याएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्