काठमाडौं । वर्षौंदेखि प्रहरी संगठनभित्र उठ्दै आएका असमान रासन सुविधा, सीमित कल्याणकारी सेवा, सरुवा–बढुवामा पहुँचको प्रभाव र कार्यसम्पादनप्रतिको असन्तुष्टिलाई सम्बोधन गर्न सुरु गरिएका संस्थागत सुधारले नेपाल प्रहरीको कार्यशैलीमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार संगठनभित्र कर्मचारीमैत्री सुधार, प्रविधिको प्रयोग, स्वचालित कार्यसम्पादन प्रणाली र कल्याणकारी सेवाको विस्तारसँगै अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन, विपद् उद्धार, सामुदायिक प्रहरी साझेदारी तथा नागरिक सेवामा छोटो अवधिमै सकारात्मक नतिजा देखिन थालेको छ।
‘संगठनभित्र सुधार, सेवामा प्रभाव’
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार सरकारको सुशासन नीति र प्रहरी प्रधान कार्यालयको संगठन सुदृढीकरण अभियानले प्रहरी संगठनमा नयाँ ऊर्जा सिर्जना गरेको छ।
उनका अनुसार स्वचालित कार्यसम्पादन प्रणाली, रासन तथा कल्याणकारी सेवाको विस्तार, प्रतिस्पर्धात्मक कार्यसंस्कृति, नियमित मनोसामाजिक परामर्श तथा प्रहरी कर्मचारीका जायज मागको शीघ्र सम्बोधनले संगठनभित्रको मनोबल बढाएको छ।
आईजीपी बनेपछि सुधार अभियान
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदभार सम्हालेसँगै प्रहरी कर्मचारीका समस्या समाधानलाई प्राथमिकता दिँदै संस्थागत सुधार सुरु गरेका थिए।
यसअन्तर्गत कर्मचारी व्यवस्थापनदेखि सेवा प्रवाहसम्मका क्षेत्रमा विभिन्न सुधार कार्यक्रम लागू गरिएको प्रहरी मुख्यालयले जनाएको छ।
एआईमार्फत ट्राफिक निगरानी, चार लाखभन्दा बढी कारबाही
प्रहरीले ट्राफिक व्यवस्थापनमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग विस्तार गरेको छ।
पछिल्लो चार महिनामा एआई प्रणालीमार्फत ट्राफिक नियम उल्लंघन गर्ने ४ लाख ५१ हजारभन्दा बढी सवारीचालकलाई कारबाही गरिएको छ। यसबाट करिब ३९ करोड रुपैयाँ जरिबाना असुल भएको प्रहरीले जनाएको छ।
तीन महिनामा १३ हजारभन्दा बढी पक्राउ
अपराध अनुसन्धानतर्फ पछिल्ला तीन महिनामा १७ हजार २४६ मुद्दा दर्ता भएका छन्।
यस अवधिमा १३ हजार ४५४ जना पक्राउ परेका छन् भने अदालतबाट दोषी ठहर भएर फरार रहेका ६ हजार ८९७ व्यक्तिलाई पनि पक्राउ गरिएको छ।
प्रहरीका अनुसार उनीहरूबाट २ हजार ५४१ वर्षभन्दा बढी कैद सजाय कार्यान्वयन गरिएको छ भने करिब ९६ करोड रुपैयाँ जरिबाना असुल गरिएको छ।
आत्महत्या रोकथामदेखि सामुदायिक प्रहरी अभियानसम्म
प्रहरीले आत्महत्या रोकथाम अभियानअन्तर्गत पछिल्लो तीन महिनामा आत्महत्याको प्रयास गरेका २९२ जनाको समयमै उद्धार गरेको जनाएको छ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत मानव बेचबिखन, लैङ्गिक हिंसा, बालविवाह, छाउपडी, बालश्रम तथा लागुऔषध दुव्र्यसनविरुद्ध ६९ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
प्रहरीका अनुसार ती कार्यक्रमबाट २० लाखभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्।
शान्तिसुरक्षा र विपद् व्यवस्थापनमा पनि सक्रियता
तीन महिनाको अवधिमा देशभर शान्तिसुरक्षा कायम राख्न ४४ लाख १ हजार ८७० पटक प्रहरी परिचालन गरिएको छ भने १३ लाख १३ हजार ७६९ पटक गस्ती सञ्चालन गरिएको प्रहरीको तथ्यांक छ।
विपद् व्यवस्थापनतर्फ ५७ हजार ७७२ प्रहरी कर्मचारी परिचालन गरिएका छन्। यस अवधिमा भएका ८ हजार ५२५ विपद्का घटनामा ४ हजार ७७८जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
सुधारको दीर्घकालीन चुनौती
प्रहरी नेतृत्वले संगठनभित्र कर्मचारीको मनोबल बढाउने, सेवा–सुविधामा सुधार ल्याउने र प्रविधिमा आधारित प्रहरी सेवा विस्तार गर्ने अभियानलाई निरन्तरता दिएको दाबी गरे पनि यसको दीर्घकालीन सफलता सुधार कार्यक्रमको निरन्तरता, पारदर्शी सरुवा–बढुवा प्रणाली र नागरिकमैत्री सेवा संस्कृतिलाई संस्थागत गर्न सकिने क्षमतामै निर्भर रहने देखिन्छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्