‘सत्ता र शक्ति केवल माध्यम हुन्’, पार्टीभित्रका असमझदारी अन्त्य गरी एकढिक्का कांग्रेस निर्माण गर्ने प्रतिबद्धता
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीति गर्ने मूल उद्देश्य सत्ता प्राप्ति नभई नागरिकको अधिकारको संरक्षण र लोकतान्त्रिक मूल्यको रक्षा भएको बताएका छन्। उनले नागरिकको पक्षमा काम गर्न सधैँ सत्ता र शक्ति आवश्यक नपर्ने उल्लेख गर्दै सत्ताबाहिर रहेर पनि जनताको अधिकारका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सकिने धारणा व्यक्त गरे।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले सत्ता र शक्ति राजनीतिका अन्तिम लक्ष्य नभई जनताको सेवा गर्ने माध्यम मात्र भएको स्पष्ट पारे।
“सत्ता र शक्ति लक्ष्य होइन, केवल साधन र माध्यम हो,” उनले भने।
उनले राजनीतिक दलको मूल्यांकन सरकारमा पुगेको आधारमा मात्र नभई नागरिकप्रतिको उत्तरदायित्व, लोकतान्त्रिक प्रतिबद्धता र जनविश्वासका आधारमा हुनुपर्ने धारणा राखे।
पार्टीभित्रको एकतामा जोड
सभापति थापाले नेपाली कांग्रेसभित्र देखिएका असमझदारी र मतभेदलाई संवादमार्फत समाधान गर्दै पार्टीलाई थप एकताबद्ध बनाइने बताए। तर, एकताको नाममा पार्टीको सिद्धान्त, विचार र पहिचानलाई कमजोर बनाउन नहुने उनको भनाइ थियो।
उनले कांग्रेसलाई यस्तो पार्टीका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए, जहाँ प्रत्येक कार्यकर्ताले ‘म कांग्रेसको कार्यकर्ता हुँ’ भनेर गर्वका साथ भन्न सक्ने वातावरण निर्माण होस्।
उनले पार्टीको संगठनात्मक सुदृढीकरण, आन्तरिक लोकतन्त्र र वैचारिक स्पष्टतालाई आगामी कार्यदिशाको केन्द्रमा राखिने पनि बताए।
केन्द्रीय समिति बैठकपछि महाधिवेशन प्रक्रिया
सभापति थापाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट समसामयिक राजनीतिक तथा सांगठनिक विषयमा आवश्यक निर्णय गरिने जानकारी दिए।
उनका अनुसार बैठक दुईदेखि तीन दिनसम्म सञ्चालन हुनेछ। बैठकमा भएका निर्णयपछि पार्टीको महाधिवेशन प्रक्रिया औपचारिक रूपमा अघि बढाइने उनले बताए।
थापाले आगामी महाधिवेशनलाई कांग्रेसको आन्तरिक सुदृढीकरण, नेतृत्व विकास र संगठनात्मक पुनर्संरचनाको महत्वपूर्ण अवसरका रूपमा उपयोग गरिने विश्वास व्यक्त गरे।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्