पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा बाढीका कारण नारायणी नदीले कटान बढाएपछि नियन्त्रण तथा विपद् व्यवस्थापनको कार्य तीव्र पारिएको छ। कटान रोक्नका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सुस्ताका स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा खटिएर तटबन्ध निर्माण गरिरहेका छन्।
अहिले कटान भइरहेको स्थानमा नदीको बहावलाई बस्तीतर्फ सोझिन नदिन बालुवाका बोरा, तारजाली (गेबियन) र रुखका हाँगाबिँगाहरू प्रयोग गरी रातदिन नभनी अस्थायी बाँध मजबुत बनाउने काम भइरहेको छ। बाढीबाट सुस्ता क्षेत्रलाई जोगाउन थप साधन, स्रोत र प्रविधि प्रयोग गरी जोखिम न्यूनीकरण गर्न सबै निकाय सजग र सक्रिय रहेका छन्।
यसैबीच, सुस्ता क्षेत्रको प्रतिनिधित्व गर्नुहुने सङ्घीय सांसद विक्रम खनाल र प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको टोलीले शनिबार कटान क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।
नारायणी नदीको कटानले बस्ती नै जोखिममा पारेपछि सुस्तावासीले आफ्नो जीवन र जमिनको सुरक्षाका लागि जोडदार माग गरेका छन्। निरिक्षणका क्रममा स्थानीयवासीले बर्सेनि भोग्दै आएको कटान र डुबानको समस्या प्रतिनिधिमण्डलसामु विस्तारमा सुनाएका थिए।
स्थानीय बासिन्दाका अनुसार एकातिर नदीको तीव्र बहावले बर्सेनि खेतीयोग्य जमिन र बस्ती कटान गरिरहेको छ भने अर्कातिर पक्की तटबन्ध निर्माणमा भारतीय पक्षबाट हुने अवरोधका कारण उनीहरू थप समस्यामा पर्दै आएका छन्। आफ्नै श्रमदान र स्थानीय स्रोत-साधनमार्फत अस्थायी बाँध बाँधेर गाउँ जोगाउने प्रयास गरिरहेका सुस्तावासीले राज्यबाट मनसुनलगत्तै दिगो तथा पक्की तटबन्ध निर्माण गरिदिन आग्रह गरेका छन्।
सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार कटान भएको क्षेत्रमा पक्की तटबन्ध निर्माणका लागि ठेक्का प्रक्रिया सम्पन्न भइसके पनि भारतीय पक्षको अवरोधका कारण काम अघि बढ्न सकेको छैन। “नदी सीधै बस्तीमा पस्ने जोखिम बढेपछि अहिले हामी स्थानीय स्रोत, साधन, मेसिन र जनश्रमदानमार्फत अस्थायी तटबन्ध बनाएर गाउँ जोगाउने प्रयास गरिरहेका छौँ,” जयसवालले भन्नुभयो।
निरीक्षणका क्रममा सांसद खनालले सुस्ताको तटबन्ध नियन्त्रणका लागि सङ्घीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग भएको समन्वय र स्रोत सुनिश्चितताबारे जानकारी गराउनुभयो। उहाँले सुस्तावासीको सुरक्षा र कटानको दिगो समाधानका लागि मन्त्रालय र सम्बन्धित आयोजनासँग निरन्तर संवाद भइरहेको बताउनुभयो।
त्यस्तै प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सम्भावित ठूलो क्षति हुन नदिन स्थानीय प्रशासन, जनप्रतिनिधि र सुरक्षा निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो।
भौगोलिक रूपमा तीनतर्फ भारत र एकतर्फ नारायणी नदीले घेरिएको सुस्ता अत्यन्त संवेदनशील क्षेत्र मानिन्छ। वर्षायाममा नारायणी नदीमा पानीको बहाव बढ्दा स्थायी तटबन्धको अभावमा यहाँ बर्सेनि सयौँ बिघा खेतीयोग्य जमिन र बस्ती जोखिममा पर्ने गरेको छ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्