काठमाडौं । पश्चिमी क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तमा फैलिएको भीषण डढेलोले भयावह रूप लिएको छ। केही घण्टामै आगोको क्षेत्रफल झण्डै दोब्बर भएपछि हजारौँ स्थानीयवासीलाई घर छाडेर सुरक्षित स्थानमा जान बाध्य पारिएको छ।
बीसी वाइल्डफायर सर्भिसका अनुसार बाल्ड रेन्ज डढेलो अहिले ब्रिटिस कोलम्बियाको समरल्यान्ड तथा ओकानागन–सिमिल्कामिन क्षेत्रमा फैलिँदै करिब ९५ वर्ग किलोमिटर क्षेत्र ओगटिसकेको छ। शनिबार बिहानसम्म आगो नियन्त्रणमा आउन नसकेको अधिकारीहरूले जनाएका छन्।
ओकानागन–सिमिल्कामिन क्षेत्रीय जिल्लाका आपतकालीन सेवा अधिकारी एरिक थम्पसनले यसपटकको डढेलो असाधारण रूपमा तीव्र गतिमा फैलिएको बताए।
“जोखिमयुक्त क्षेत्रमा यति छोटो समयमा यति ठूलो परिमाणमा आगो फैलिएको मैले कहिल्यै देखेको थिइनँ,” उनले भने।
लगभग १२ हजार जनसंख्या रहेको समरल्यान्ड नगरका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिइएको छ। आगलागीका कारण प्रभावित क्षेत्रमा विद्युत् सेवा समेत अवरुद्ध भएको स्थानीय प्रशासनले जनाएको छ।
समरल्यान्डसँगै ओकानागन, पिचल्यान्ड तथा ओकानागन–सिमिल्कामिन क्षेत्रका केही बस्तीमा पनि अनिवार्य रूपमा स्थानान्तरणको आदेश जारी गरिएको छ। अन्य जोखिमयुक्त क्षेत्रमा रहेका बासिन्दालाई पनि आवश्यक परे तत्काल घर छाड्न तयार रहन सचेत गराइएको छ।
पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण क्यानडामा गर्मी याममा डढेलोको घटना बढ्दै गएको छ। उच्च तापक्रम, सुख्खा मौसम र तीव्र हावाका कारण यस वर्ष पनि पश्चिमी क्यानडाका विभिन्न क्षेत्रमा आगो नियन्त्रण गर्न चुनौती थपिएको अधिकारीहरूको भनाइ छ।
उद्धार तथा अग्नि नियन्त्रणका टोलीहरू आगो नियन्त्रणमा लिन निरन्तर परिचालन भए पनि प्रतिकूल मौसमका कारण प्रयासमा कठिनाइ भइरहेको जनाइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्