काठमाडौं । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको सूचनापछि सरकारले काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरेको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा आज बिहानैदेखि ग्यास डिपोमा निगरानी तथा अनुगमन सुरु गरिएको हो।
भारतबाट ग्यास आयातमा समस्या नरहे पनि बजारमा एकाएक अभाव देखिएपछि उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचना आउन थालेको थियो। त्यसपछि उद्योगमन्त्री गौरी यादवले विषयमा चासो लिँदै ग्यासको आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई महँगोमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न गृहमन्त्री सुदन गुरुङसँग प्रहरी परिचालन गरी अनुगमन गर्न आग्रह गरेकी थिइन्।
प्रहरीले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने तथा कालोबजारी गर्ने गतिविधिमाथि निगरानी गरिरहेको छ। त्यस्ता गतिविधि भेटिए तत्काल कारबाही गर्ने गरी सादा पोसाकमा प्रहरी परिचालन गरिएको बताइएको छ।
उपत्यकामा भइरहेको अनुगमनबाट प्राप्त सूचनाका आधारमा आवश्यक परे अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाइने गृह मन्त्रालयले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्