काठमाडौं । भारतको चर्चित पत्रिका ‘तहल्का’का पूर्वसम्पादक तथा पत्रकार तरुण तेजपाललाई बलात्कारको आरोपमा दोषी ठहर गर्दै बम्बई उच्च अदालतको गोवा बेन्चले १० वर्ष कैद सजाय सुनाएको छ। तेजपालविरुद्ध सन् २०१३ मा यौन उत्पीडनको मुद्दा दर्ता भएको थियो।
सन् २०१३ को नोभेम्बरमा गोवास्थित एक पाँचतारे होटलको लिफ्टमा एक महिलामाथि यौन उत्पीडन गरेको आरोप तेजपालमाथि लागेको थियो। त्यसपछि उनलाई पक्राउ गरी अभियोगपत्र दायर गरिएको थियो। पीडित महिला तेजपालकी छोरीकी साथी तथा त्यतिबेला उनीसँगै काम गर्ने कर्मचारी थिइन्। सुनुवाइका क्रममा उनले तेजपाललाई बुवाजस्तै विश्वास गर्ने गरेको बताएकी थिइन्।
सन् २०२१ मा गोवाको सेसन अदालतले तेजपाललाई सबै आरोपबाट सफाइ दिएको थियो। उक्त फैसलाविरुद्ध पुनरावेदन परेको थियो। करिब पाँच वर्षपछि बम्बई उच्च अदालतको गोवा बेन्चले तल्लो अदालतको फैसला उल्टाउँदै तेजपाललाई दोषी ठहर गरी १० वर्ष कैद सजाय सुनाएको हो।
फैसलापछि तेजपालले आफू ६२ वर्षको भएको र आफूलाई ‘राजनीतिक पीडित’ बनाइएको दाबी गर्दै उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन्। उनले आफ्ना दुई छोरी र श्रीमती रहेको उल्लेख गर्दै आफूहरूले फैसलाविरुद्ध कानुनी लडाइँ जारी राख्ने बताएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्